रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र आपतकालीन टेन्ट पठाउने

काठमाडौंमा १०० आपतकालीन शय्या तयारी


२०८३ भदौ १० बुधबार १३:२९ बजे

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक औषधि, स्वास्थ्य उपकरण र आपतकालीन टेन्ट पठाउने भएको छ। 

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको छलफलपछि डब्ल्युएचओले बाढी प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी प्रभावित क्षेत्रमा अस्थायी स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनका लागि २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपतकालीन टेन्टसमेत पठाउने तयारी गरिएको छ।

बाढीका कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले काठमाडौंका प्रमुख अस्पतालमा उपचारको तयारीसमेत तीव्र बनाएको छ। मन्त्रालयका अनुसार वीर अस्पताल र ट्रमा सेन्टरमा गरी १०० वटा आपतकालीन शय्या छुट्याइएको छ। यसैबीच बाढी प्रभावित क्षेत्रबाट हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ। उनीहरूको उपचार भइरहेको छ।

आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र तथा बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको छ। त्यसैगरी नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समेत उद्धार, स्वास्थ्य सेवा तथा आवश्यक राहत व्यवस्थापनका लागि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले औषधि तथा उपकरण आपूर्ति, घाइतेको उद्धार र अस्पतालमा उपचारको व्यवस्था सँगसँगै अघि बढाइएको मन्त्रालयको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७