सरकारी गाडीमा पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन्द्र शाह
होटल बुक तर, सुरक्षा निकायलाई छैन खबर
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन्। उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री शाह सवार गाडी यो समाचार तयार पार्दासम्म धादिङ पुगिसकेको थियो। उनी शुक्रबार नै पोखरा पुग्ने कार्यक्रम रहेको छ।
यद्यपि प्रधानमन्त्रीको पोखरा तथा मुस्ताङ भ्रमणबारे सुरक्षा निकाय भने औपचारिक रूपमा बेखबर छन्। कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए। ‘हामीले पनि सञ्चारमाध्यममार्फत जानकारी पायौँ तर उहाँ आउनेबारे औपचारिक जानकारी प्राप्त भएको छैन,’ पासवानले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए। उनका अनुसार प्रहरीले भने भ्रमणबारे आफूहरूसँग जानकारी मागेको थियो। प्रधानमन्त्री मुस्ताङ जाने कार्यक्रम रहेको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी पुगेको छैन। मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए। यद्यपि सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ।
सुरक्षा निकायलाई औपचारिक जानकारी नभए पनि प्रधानमन्त्री शाहको पोखरा भ्रमण निश्चित रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी शुक्रबार अपराह्न पोखरा पुग्नेछन्। पोखरा पुगेपछि प्रधानमन्त्री शाह कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारी छ। उनका लागि उक्त रिसोर्ट बुक भइसकेको बताइएको छ।
.gif)

.png)

