रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, नुवाकोटमा मात्रै ९ शव भेटिए

बेपत्ताको खोजी जारी


२०८३ भदौ १० बुधबार १६:५७ बजे

काठमाडौं : रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। बाढीमा बगाएका तथा बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा बुधबार दिउँसो पौने ३ बजेसम्म १६ जनाको शव फेला परेको हो। 

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार फेला परेका शवमध्ये रसुवामा एक जना, नुवाकोटमा नौ जना र धादिङमा छ जनाको शव भेटिएको छ। प्रहरीका अनुसार फेला परेका १६ शवमध्ये सात जना महिला र आठ जना पुरुष रहेका छन्। एक शवको भने पहिचान तथा लिंग खुल्न बाँकी रहेको छ। 

चीनको तिब्बत क्षेत्रबाट भोटेकोसी हुँदै बुधबार बिहान करिब ९ बजेतिर आएको बाढीको बहाव रसुवा हुँदै नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा पुगेको थियो। बाढीले नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीमा परी अझै केही व्यक्ति सम्पर्कविहीन रहेको हुन सक्ने भएकाले सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन भएका छन्।

बेपत्ता व्यक्तिको सम्भावित स्थानमा खोजी गर्नुका साथै जोखिममा रहेका नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन अझै बाँकी छ। नदीमा पुनः बाढी आउन सक्ने जोखिमसमेत रहेकाले उद्धार टोलीलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७