केरुङ क्षेत्रमा बाढीपहिरोपछि राष्ट्रपति सीको चासो, बेपत्ताको खोजी र उद्दारमा समन्वय गर्न निर्देशन


२०८३ भदौ १० बुधबार १४:२९ बजे

काठमाडौं : रसुवा र चीनको केरुङ क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएपछि चीनले विपद्को अवस्थालाई उच्च प्राथमिकतामा राख्दै उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि सक्रियता बढाएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले केरुङ क्षेत्रमा भएको बाढीपहिरोपछि बेपत्ता व्यक्तिको खोजी, प्रभावितको उद्धार तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अगस्ट २६ बिहान करिब १०ः३० बजे सिचाङ (तिब्बत)को शिगात्से सहरअन्तर्गत केरुङ काउन्टीको केरुङ बन्दरगाह क्षेत्रमा बाढीपहिरोको घटना भएको थियो। घटनाको प्रभाव नेपालतर्फको रसुवा क्षेत्रमा समेत परेको छ। 

घटनापछि राष्ट्रपति सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न, घाइतेको उपचार गर्न तथा सम्भावित मानवीय क्षति न्यून गर्न सबै प्रयास गर्नुपर्ने बताएका छन्। सीले विपद्को निरन्तर निगरानी र प्रारम्भिक चेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउनसमेत जोड दिएका छन्। उद्धार कार्य वैज्ञानिक ढंगले सञ्चालन गर्न तथा थप बाढीपहिरोको जोखिम रोक्न आवश्यक सावधानी अपनाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि घटनापछि बेपत्ता तथा प्रभावितको संख्या तत्काल यकिन गर्न निर्देशन दिएका छन्। उनले उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति परिचालन गर्न र जोखिममा रहेका नागरिकलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेका छन्। लीले उद्धारका क्रममा वैज्ञानिक विधि अपनाउन तथा थप विपद् रोकथामलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। साथै चीनको विदेश मन्त्रालयलाई नेपालसँग सञ्चार तथा समन्वय बलियो बनाउन र घटनाको अवस्थाबारे तत्काल जानकारी आदानप्रदान गर्न निर्देशन दिएको सिन्ह्वाले जनाएको छ। चीनले बाढी नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रको पहिचान, निगरानी र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउने विषयमा समेत जोड दिएको छ। 

यता, नेपालतर्फ रसुवामा बाढीको जोखिम अझै कायम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले रसुवामा पुनः बाढीको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि प्रभावित तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। रसुवा र केरुङ दुवैतर्फ एकैपटक विपद्को अवस्था देखिएपछि चीनको उच्च राजनीतिक नेतृत्वबाटै उद्धार, राहत र नेपालसँग समन्वयलाई प्राथमिकता दिन निर्देशन आउनुलाई घटनाको गम्भीरताको संकेतका रूपमा हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७