बाढी–पहिरोको जोखिम बढेपछि राजमार्गमा आवागमन कडाइ

बीपी र कान्तिलोकपथमा राति सवारी प्रतिबन्ध


२०८३ भदौ ८ सोमबार ०७:३३ बजे
फाइल फोटो

काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा सडक यातायात प्रभावित बनेको छ। नेपाल प्रहरीका अनुसार सोमबार विभिन्न प्रदेशका मुख्य राजमार्गमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध हुनुका साथै केही खण्डमा सवारी आवागमनमा समय तोकेर प्रतिबन्ध लगाइएको छ।

कोशी प्रदेशमा भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। इलामको राजदुवाली क्षेत्रमा झापा–ताप्लेजुङ सडकखण्डअन्तर्गत मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। दुवै स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।

बागमती प्रदेशमा वर्षाका कारण सडकमा जोखिम बढेपछि रातिको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको छ। काभ्रेको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

यस्तै, सिन्धुपाल्चोकको कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी र स्याउपार्क क्षेत्रको पासाङ ल्हामु सडकखण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। नुवाकोटको शिवपुरीस्थित टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशका केही मुख्य सडकमा पहिरो खसे पनि यातायात पूर्ण रूपमा ठप्प भने भएको छैन। बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी–जोमसोम सडक तथा मनाङको खोत्रोस्थित चामे–बेँसीसहर सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

कर्णाली प्रदेशमा भने बाढीले सडक यातायातमा गम्भीर असर पारेको छ। रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण सडकमा पहिरो र बाढीको जोखिम कायमै रहेकाले यात्रुले यात्रा अघि सम्बन्धि त सडकको अवस्था बुझेर मात्रै आवागमन गर्नुपर्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७