देशभरका मुख्य राजमार्ग अवरुद्ध : यात्रा अघि सतर्कता अपनाउन आग्रह


२०८३ भदौ १७ बुधबार ०८:११ बजे
फाइल फोटो

काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढी जाँदा मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

धादिङको पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। बेनीघाट रोराङ–७ स्थित कृष्णभीर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै, बेनीघाट रोराङ–१० को ज्वाडु खोला र थाक्रे–२ को कमेरेभीरमा पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ।

काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक सडक खण्डमा सुनकोशी नदीमा आएको बाढीका कारण उच्च जोखिम देखिएपछि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।

रसुवातर्फ पासाङ ल्हामु सडक खण्डको सिटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध छ। विदुर–लाच्याङ र टोखा–छहरे सडक खण्ड पनि पहिरो तथा बाढीका कारण प्रभावित भएका छन्। उत्तरगया–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक लामो समयदेखि बन्द रहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशमा बेँसीसहर–मनाङ सडकअन्तर्गत खर्करेभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णालीको मुगु–गमगढी सडकअन्तर्गत ताल्चामा पहिरो खसेपछि यातायात ठप्प छ। 

यसैगरी, सुदूरपश्चिमको बैतडीमा गोठालापानी–झुलाघाट सडक खण्डमा पहिरो गएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले अवरुद्ध सडकमा उद्धार तथा पहिरो पन्छाउने काम भइरहेको र जोखिमयुक्त सडकमा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७