किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ धरौटीमा रिहा, लगत्तै पक्राउको तयारी


२०८३ भदौ ३० मंगलबार १७:४५ बजे

काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर, उनीविरुद्ध अन्य मुद्दा बाँकी रहेकाले प्रहरीले पुनः हिरासतमा लिने भएको छ। सिंहदरबारबाट सोमबार पक्राउ परेका तामाङलाई प्रहरीले मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो। 

प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको ५ लाख २५ हजार रुपैयाँको बाउन्स चेकसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको थियो। जाहेरी अरुण अर्यालले दिएका थिए। न्यायाधीश टिकेन्द्र दाहालको इजलासले उक्त मुद्दामा तामाङलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर, तामाङविरुद्ध अझै ९ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार परिसरमै उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी पाँचवटा मुद्दा दर्ता छन्। त्यस्तै, महाराजगञ्ज, जनसेवा र लैनचौर प्रहरी वृत्तमा पनि उनीविरुद्ध सोही कसुरका मुद्दा दर्ता छन्। भक्तपुर जिल्ला प्रहरी परिसरमा भने उनीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। दर्ता भएका सबै मुद्दाका मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश भइसकेका छन्। प्रहरीका अनुसार सबै मुद्दा जोड्दा तामाङविरुद्ध १० करोड रुपैयाँभन्दा बढीको दाबी रहेको छ।

सोमबार भोटेकोशी बाढीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग छलफल गरेर बाहिरिने क्रममा अनामनगरस्थित हनुमानस्थानबाट तामाङ पक्राउ परेका थिए। प्रहरी वृत्त दरबारमार्गबाट उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लैजाने तयारी गरिएको छ। त्यहाँ दर्ता भएका पाँचवटा मुद्दामा अनुसन्धानका लागि उनलाई पुनः अदालतमा पेश गरिने एसपी थापाले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७