मुख्य राजमार्ग प्रभावित, खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा समयसीमा तोकियो


२०८३ भदौ २५ बिहीबार ०७:३७ बजे
फाइल फोटो

काठमाडौं : लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका तथा बागमती प्रदेशका मुख्य राजमार्गको आवागमन प्रभावित भएको छ। कतिपय सडक खण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन्।

नेपाल प्रहरीले बिहीबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सडकको अवस्थाबारे जानकारी गराएको हो। प्रहरीका अनुसार काठमाडौँ–धादिङ सडकअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा भदौ १७ गतेदेखि खसेको पहिरोका कारण सडक एकतर्फी रूपमा सञ्चालनमा छ।

बागमती प्रदेशतर्फ काभ्रेको बिपी राजमार्गमा बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सवारी सञ्चालनका लागि समयसीमा तोकिएको छ। बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी मात्रै सञ्चालन गर्न दिइनेछ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको मूल्याङ्कन गरेर अन्य सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।

उता रसुवामा अवस्था थप गम्भीर छ। उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यो अवरोध लामो समयसम्म रहन सक्ने जनाइएको छ। जिल्लाका मुख्य राजमार्गका अन्य खण्डसमेत अर्को सूचना नभएसम्म पूर्ण रूपमा बन्द छन्।

नुवाकोटमा शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, वेत्रावती नगरपालिका–१० सिमटारमा बाढी आएपछि पासाङ ल्हामु सडक खण्ड पनि अर्को सूचना नभएसम्म पूर्ण रूपमा अवरुद्ध छ।

धादिङमा पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ प्रभावित भएका छन्। बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। थाक्रे गाउँपालिका–७ सोप्याङखोलामा पहिरोका कारण त्रिभुवन राजपथ पनि बन्द छ। बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा भने पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। 

बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी रातको समयमा यात्रा गर्दा थप सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७