त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा सात जनाविरुद्ध अदालतमा मुद्दा दायर
शिक्षकसहित सात जनाविरुद्ध मुद्दा, केही अझै फरार
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा सञ्चालन भइरहेका बेला बाहिरिएको प्रकरणमा सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा शिक्षक र विद्यार्थी गरी सात जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको हो।
प्रकरणमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई मुख्य अभियुक्त बनाइएको छ। सिंह काठमाडौंको बागबजारस्थित केएमसी कलेज र कोटेश्वरस्थित हिमालय कलेजमा वित्त विषय अध्यापन गराउँदै आएका शिक्षक हुन्। सिंहसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्तमध्ये केही अझै फरार रहेको जनाइएको छ।
२०८३ साउन ६ गते सञ्चालन भएको ‘म्यानेजमेन्ट–५१५’ र साउन ८ गते भएको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको एमबीएस प्रथम सेमेस्टर परीक्षाका प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। ‘टीयू स्टुडेन्ट’ नामक फेसबुक समूह तथा विभिन्न ह्वाट्सएप समूहमा ‘सुलभ सर’ नामको आईडीबाट प्रश्नपत्रका तस्बिरसँगै उत्तरसमेत शेयर गरिएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीलाई दिएको बयानमा विद्यार्थी अब्दुल सानी हाकिमले परीक्षा हलभित्रैबाट प्रश्नपत्रको तस्बिर खिचेर ह्वाट्सएप समूहमा पठाएको स्वीकार गरेका छन्। उनका अनुसार परीक्षा हलमै बसेर एमबीएस फस्ट सेमेस्टर एक्जाम ग्रुप हेर्दा ‘सुलभ सर’ नामक प्रयोगकर्ताले प्रश्नपत्र मागेको सन्देश देखेपछि आफूले मोबाइलबाट प्रश्नपत्रको तस्बिर खिचेर पठाएका थिए। उनले आफूले तस्बिर पठाएको केही समयपछि अर्का प्रयोगकर्ताले समेत प्रश्नपत्र पठाएको बयान दिएका छन्। प्रहरीले ‘सुलभ सर’ नामबाट विद्यार्थीहरूसँग सम्पर्कमा रहेका सन्दीप सिंहलाई साउन ९ गते पक्राउ गरेको थियो। सिंहले विद्यार्थीलाई अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्नुका साथै कोचिङ कक्षा र नोटसमेत उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा सार्वजनिक भएको ह्वाट्सएप च्याटमा ‘सुलभ सर’ नाम भएका सिंहले पीडीएफ फाइल पठाएको देखिएको थियो। त्यसपछि ‘केशव भट्ट’ नाम गरेका विद्यार्थीले ‘सर, सोलुसन नि पठाइदिनु न’ भन्दै अनुरोध गरेको र सिंहले केही समयपछि समाधानसमेत पठाउने बताएका थिए। त्रिवि व्यवस्थापन संकायको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सिंहले ‘सुलभ सर’ नामबाट विभिन्न ह्वाट्सएप समूह बनाएर करिब एक हजार विद्यार्थीलाई जोडेको र प्रश्नपत्र बाहिर पुर्याएको खुलेको प्रहरीले जनाएको छ।
सिंहको साथबाट बरामद एसर कम्पनीको ल्यापटप र सामसुङ मोबाइलको प्राविधिक परीक्षण गर्दा प्रश्नपत्रका तस्बिर खिचेर अपलोड गरिएका प्रमाण, च्याट हिस्ट्री तथा पीडीएफ फाइलहरू फेला परेको अनुसन्धानबाट खुलेको छ।
.gif)

.png)

