विभाजनको डिलमा कांग्रेस

विद्रोही पक्षको नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’, चुनाव चिह्न ‘शंख’


२०८३ श्रावण १७ आइतबार ०७:१० बजे

काठमाडाैं : देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस विभाजनको ढिलमा पुगेको छ । कांग्रेसभित्रको शक्ति संघर्ष अब राजनीतिक बहसभन्दा संगठन निर्माणतर्फ उन्मुख देखिएको छ। संस्थापन इतर समूहले डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति र १६ वटा विषयगत समिति गठन गर्दै राष्ट्रिय भेलामार्फत नयाँ राजनीतिक दिशा तय गर्ने तयारी सुरु गरेको छ।

इतर पक्षले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। सोही तयारीस्वरूप डा. कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। राजनीतिक प्रस्ताव, संगठन, विधान संशोधन, आर्थिक नीति तथा प्रचार–प्रसारजस्ता विभिन्न उपसमितिहरू समेत निर्माण गरिएकाले यस भेलालाई इतर समूहको समानान्तर राजनीतिक संरचना निर्माणको गृहका रूपमा हेरिएको छ।

इतर समूहले गठन गरेको ५५१ सदस्यीय मूल आयोजक समितिमा १४औं महाधिवेशनबाट निर्वाचित तथा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यहरू, पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति र पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी तथा महानगर र नगर कार्यसमितिका सभापतिहरूलाई समेटिएको छ ।

उता संस्थापन पक्षले भने पार्टी फुटको सम्भावनालाई कम आँक्दै संवादमार्फत समाधान खोज्ने प्रयास जारी रहेको जनाएको छ। महामन्त्री गुरुराज घिमिरेका अनुसार विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेकाले अब सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्नु नै मुख्य लक्ष्य हो।

संस्थापन पक्षसँग एकताको सम्भावना न्यून रहेको र अब नयाँ पार्टी गठनको विकल्पमा जानुपर्ने निष्कर्षमा इतर समूहका नेताहरू पुगेका छन्। पूर्वउपसभापति विमलेन्द्र निधिले नेतृत्वको विषयमा अब कुनै अन्योल नरहेको स्पष्ट पार्दै नयाँ पार्टी गठन वा सङ्गठनको स्वरूपबारे आगामी राष्ट्रिय भेलाले नै ठोस निर्णय लिने बताएका छन्। नेता केदार कार्कीले नेतृत्वबाट सहमतिको वातावरण नबनेमा पार्टी र लोकतान्त्रिक शक्तिलाई जोगाउन कठोर निर्णय लिँदै नयाँ राजनीतिक बाटो समाउनुको विकल्प नरहेको चेतावनी दिएका छन्। 

नेताहरूका अनुसार, यदि वर्तमान नेतृत्वसँगको सबै सहकार्यका ढोका बन्द भएर नयाँ दल दर्ता गर्नुपर्ने स्थिति आएमा पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने र निर्वाचन आयोगमा प्रस्ताव गरिने चुनाव चिह्न ‘शंख’ हुनेबारे आन्तरिक गृहकार्य तथा व्यापक चर्चा चलेको छ। यद्यपि, इतर पक्षका आधिकारिक नेताहरूले यसबारे औपचारिक निर्णय भइनसकेको बताए पनि परिस्थिति अनुकूल अघि बढ्दा यही नाम र चिह्न प्राथमिकतामा पर्ने संकेत नेताहरूले गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७