चिकित्सकको सामूहिक राजीनामा
चिकित्सकमाथि कुटपिटपछि नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा
काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनापछि अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी नभएको भन्दै उनीहरूले आन्दोलन थप चर्काउँदै आकस्मिक सेवासमेत बन्द गरेका छन्।
गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। त्यसपछि चिकित्सकहरूले दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन्।
चिकित्सकहरूका अनुसार घटनाबारे छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले त्यहाँ पनि दुर्व्यवहार र अपमानजनक व्यवहार भोग्नुपरेको थियो। त्यसपछि सुरक्षा र पेशागत सम्मानको प्रत्याभूति नभएसम्म सेवा दिन नसकिने निष्कर्षसहित सामूहिक राजीनामा बुझाइएको हो।
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा सहभागी भए पनि जिल्ला प्रशासन कार्यालयमा भएको छलफल तनावपूर्ण बनेको थियो। उनका अनुसार चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा माग्न सकिने बताएपछि वातावरण बिग्रिएको थियो।
डा. सिंहले वार्तापछि बाहिरिने क्रममा प्रहरीले चिकित्सकलाई घेरा हालेर मोबाइल फोनसमेत खोसेको, पुनः प्रशासन कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राखेको र अपराधीसरह व्यवहार गरेको आरोप लगाए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझाइएको राजीनामापत्रमा सुरक्षा प्रत्याभूति बिना उपचार सेवा दिन असम्भव भएको उल्लेख गरिएको छ। चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा घटनामा जिम्मेवार प्रशासनिक नेतृत्वमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यसैबीच, नेपाल चिकित्सक संघले देशभर ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि उपचारका लागि अस्पताल पुग्ने बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।
.gif)

.png)

