गृहमन्त्री सुधन गुरुङ रास्वपा उपसभापति बन्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनपछि बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनको तयारी तीव्र बनाएको छ। बुधबार बस्ने केन्द्रीय समितिको बैठकले केही केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन गर्ने तयारी भइरहेका बेला उपसभापति पदमा गृहमन्त्री सुधन गुरुङको नाम लगभग तय भएको स्रोतले जनाएको छ।
पार्टी स्रोतका अनुसार उपसभापति पदका लागि बालेन्द्र शाह निकट सुनिल लम्सालको पनि दाबी रहे पनि सभापति रवि लामिछाने सुधन गुरुङलाई जिम्मेवारी दिने पक्षमा सकारात्मक देखिएका छन्। पार्टीभित्र रवि लामिछाने र बालेन्द्र शाहबीच समन्वय गराउने भूमिकामा गुरुङ प्रभावकारी रहेको र उनलाई उपसभापति बनाउँदा पदाधिकारी पनि थप समावेशी हुने निष्कर्ष नेतृत्वमा रहेको बताइएको छ।
रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार छ। तर बुधबारको बैठकबाट सबै सदस्य मनोनीत नहुने र एकता प्रक्रियामा रहेका सबै पक्षलाई समेटेर चरणबद्ध रूपमा मनोनयन गरिने तयारी रहेको महामन्त्री विपिनकुमार आचार्यले बताएका छन्।
महाधिवेशनबाट सभापतिसहित सात पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। अब एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्षसहित ५१ जना केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छ।
यसैबीच, बालेन समूहले पाउने एक महामन्त्री पदका लागि भूपदेव शाह र सुदीप ढकालबीच प्रतिस्पर्धा देखिएको छ। प्रवक्तामा प्रमोद न्यौपानेको सम्भावना बलियो रहेको छ भने निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले पुनः सोही जिम्मेवारी नलिने संकेत दिएकी छन्।
.gif)

.png)

