आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले दुई दिनको बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो। यससम्बन्धी विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सेवा प्रवाह निरन्तर राख्न विशेष तयारी गर्न भनिएको छ।
जारी निर्देशनअनुसार कामको चाप र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। सेवा दिने कर्मचारीलाई अन्य दिन बिदा मिलाएर दिने वा सम्भव नभए सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न पनि मन्त्रालयले उल्लेख गरेको छ।
त्यस्तै, प्रादेशिक अस्पतालहरूमा समेत सोहीअनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ। सार्वजनिक बिदाका दिनमा पनि स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर रूपमा सञ्चालन हुने मन्त्रालयले विश्वास व्यक्त गरेको छ।

.gif)

.png)

