अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
काठमाडौँ : सरकारी अस्पतालहरूको ओपीडी सेवा आइतबारदेखि पुनः बन्द हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय कार्यान्वयनसँगै आइतबारको ओपीडी सेवा बन्द रहने जनाएको हो।
यसअघि बिरामी मर्कामा पर्ने भन्दै मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो। तर चिकित्सक संघले आइतबार सेवा सञ्चालन गर्न नसकिने बताएपछि सरकार पुनः दुई दिन बिदा लागू गर्ने निर्णयमा पुगेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवामा कुनै अवरोध नहुने स्पष्ट पारिएको छ। आकस्मिक तथा अन्तरंग (इनडोर) सेवा भने २४ सै घण्टा निरन्तर सञ्चालनमा रहने व्यवस्था गरिएको छ।
सेवा अवरुद्ध भएमा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइने र एम्बुलेन्स सेवा सधैं तयारी अवस्थामा राखिने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा पेशागत संगठनको दबाबपछि सरकारले अस्पतालमा पनि सातामा दुई दिन बिदा लागू गर्ने निर्णय गरेको हो । ससँगै देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपीडी सेवा बन्द हुनेछ।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी र नर्सिङ स्टाफलाई तोकेको भन्दा बढी समय काममा नलगाउन अनुरोध गरेको छ ।
श्रम ऐन, २०७४ को दफा २ (ढ) मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, सर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ भनेको छ । सो शब्दले रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्र समेतलाई जनाउँछ भन्ने व्यवस्था छ ।
सोही ऐनको दफा ११ को उपदफा (१) मा रोजगारदाताले रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन नहुने, दफा १७ मा प्रशिक्षार्थीलाई काममा लगाउँदा दैनिक आठ घण्टा र साप्ताहिक रूपमा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नहुने उल्लेख छ ।
ऐनको दफा २८ मा प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, दफा २९ मा बढी समय काम गर्न बाध्य पार्न नहुने र दफा ३० मा बढी समय काममा लागउन परेमा प्रतिदिन ४ घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।

.gif)

.png)

