आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ
काठमाडौँ : नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अस्पतालहरूमा पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन सम्भव नरहेको उल्लेख गरेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित ९/५ ड्युटीबाहेक अनकल, राउन्ड र आपतकालीन सेवामा चौबीसै घण्टा खटिइरहेको अवस्थामा ती समयको गणना नहुनु अन्यायपूर्ण भएको संघको ठहर छ।
संघका अनुसार हालको जनशक्ति व्यवस्थापन वैज्ञानिक नभएसम्म मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न सकिँदैन। अत्यधिक कार्यभारका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या आउन सक्ने चेतावनी पनि दिइएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भए पनि सट्टा बिदा दिने विषय विगतमा कानुनी जटिलताका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले बिरामीलाई सहजता दिने उद्देश्यले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको थियो। तर संघले आवश्यक जनशक्ति थप नगरी यस्तो व्यवस्था लागू गर्न नसकिने स्पष्ट पारेको छ।
.gif)

.png)

