अस्पताल-प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयकाे निर्देशन: आफ्नो जग्गा विवरण ३ दिनभित्र पठाउनु
यी हुन् विवरण बुझाउन निर्देशन दिइएका ३२ अस्पताल-प्रतिष्ठान
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका विभिन्न ३२ वटा प्रमुख अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गाको अवस्थाबारे ३ दिनभित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ।
यसअघि गत वैशाख ३० गतेको निर्णयानुसार ती अस्पताल तथा प्रतिष्ठानको स्वामित्वमा रहेका जमिन र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तोकिएका कार्यहरू तत्काल सम्पादन गरी जानकारी गराउन निर्देशन दिइएको थियो। तर, तोकिएको समयमा विवरण प्राप्त नभएपछि मन्त्रालयले पुनः ताकेता गर्दै तीन दिनको अन्तिम समयसीमा तोकेको हो।
मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो स्वामित्वमा रहेको जग्गाको साँध सिमाना स्वीकृत नक्सा अनुसार भए/नभएको यकिन गर्नुपर्नेछ। साथै, उक्त जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए/नभएको विस्तृत विवरण समेत तयार पारी मन्त्रालयमा पेस गर्न निर्देशन दिइएको छ। यदि अस्पतालको जग्गा अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकेर लिखित सूचना जारी गर्न र सोको पालना नभएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्न भनिएको छ।
यसका साथै, अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल (घेरावार) लगाउन र जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न समेत मन्त्रालयले निर्देशन दिएको छ।
विवरण बुझाउन निर्देशन दिइएका ३२ अस्पताल/प्रतिष्ठानहरू:
मन्त्रालयको यो निर्देशन पाउनेहरूमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (कास्की), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (भक्तपुर), नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (काठमाडौँँ), नेपाल मेडिकल काउन्सिल (काठमाडौँँ), र नेपाल नर्सिङ परिषद् (काठमाडौँँ) रहेका छन्।
त्यसैगरी वीर अस्पताल नर्सिङ क्याम्पस (काठमाडौँ), जीपी कोइराला राष्ट्रिय स्वास प्रधास केन्द्र (तनहुँ), डडेल्धुरा अस्पताल (डडेलधुरा), मानसिक अस्पताल (ललितपुर), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (काठमाडौँ), राष्ट्रिय ट्रमा सेन्टर (काठमाडौँ), कोसी अस्पताल (विराटनगर), भेरी अस्पताल (नेपालगन्ज), आयुर्वेद चिकित्सालय (काठमाडौँ), पशुपति होमियोप्याथिक चिकित्सालय (ललितपुर), र सिंहदरबार वैद्यखाना विकास समिति (काठमाडौँ) लाई पनि विवरण बुझाउन भनिएको छ।
यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (मकवानपुर), राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (भक्तपुर), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके), भरतपुर अस्पताल (चितवन), बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), गजेन्द्र नारायण सिंह अस्पताल (सप्तरी), परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (काठमाडौँ), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ), नारायणी अस्पताल (पर्सा), राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (काठमाडौँ), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला), रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (सप्तरी), स्वास्थ्य बिमा बोर्ड (काठमाडौँ) र गेटा अस्पताल (कैलाली) लाई तत्काल विवरण पठाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
.gif)

.png)

