स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग तत्काल १५ अर्ब बजेट माग
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक संकट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल १५ अर्ब रुपैयाँ व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आबद्ध अस्पतालहरू बन्द हुनसक्ने चिन्ता व्यक्त गरिन् ।
विद्यमान समस्या समाधानका लागि छलफल र सुझाव मात्र पर्याप्त नहुने उल्लेख गर्दै मन्त्री गौतमले स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरिन् । 'शून्य बजेटमा २४ अर्ब दायित्व बोकेर स्वास्थ्य बिमा कार्यक्रम कसरी सञ्चालन हुन्छ ?', मन्त्री गौतमले प्रश्न गरिन्, 'कि स्पष्ट रूपमा स्वास्थ्य बिमा बन्द गर्न निर्देश हुनुपर्यो कि आवश्यक रकम जुटाइदिनुपर्यो ।'
स्वास्थ्य मन्त्री डा. गौतमले साउनमा प्रस्तुत बजेट वक्तव्यअनुसार ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसङ्ख्यक समुदायका लागि स्वास्थ्य बीमा सुविधालाई निरन्तरता दिने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको बताइन् ।
छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै स्रोत व्यवस्थापनमा अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
.gif)

.png)

