निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित
काठमाडौँ, १३ जेठ : सरकारको महत्त्वाकांक्षी कार्यक्रमको रूपमा रहेको स्वास्थ्य बीमा योजना गम्भीर संकटमा धकेलिएको छ। बढ्दो वित्तीय संकट र अर्बौँ रुपैयाँ बक्यौता भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो।
स्वास्थ्य बीमा बोर्डको गत जेठ ११ गते बसेको बैठकले यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुँदै आएका बीमा सम्बन्धी सेवाहरू बन्द गर्ने निर्णय गरेको हो। बोर्डले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णयको आधिकारिक जानकारी दिएको छ।
बोर्डको यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल र मेडिकल कलेजहरूबाट बीमित नागरिकले पाउँदै आएका नियमित सुविधाहरू प्रभावित हुने भएका छन्। अब बीमितहरूले निजी क्षेत्रबाट ओपीडी (OPD), ल्याब परीक्षण, शल्यक्रिया र औषधि जस्ता नियमित सेवाहरूमा बीमा सुविधा पाउने छैनन्। यद्यपि, नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै आकस्मिक (इमर्जेन्सी) सेवा भने यथावत् रहने बोर्डले स्पष्ट पारेको छ।
'सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच' भन्ने नाराका साथ सुरु गरिएको यो कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानीमा ढिलाइ र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको छ। बीमा बोर्डका अनुसार हालसम्म सेवाप्रदायक स्वास्थ्य संस्थाहरूलाई १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
निजी अस्पतालहरूले लामो समयदेखि सरकारले शोधभर्ना बापतको रकम भुक्तानी नगरेको, दाबी रकम अड्काएको र प्रक्रियागत झन्झट बढाएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। कतिपय अस्पतालहरूले यसअघि नै बीमाका बिरामीहरू नलिन चेतावनी दिइसकेको अवस्थामा अन्ततः बोर्ड आफैँले सेवा स्थगनको निर्णय लिएको हो। निजी क्षेत्रमा सेवा बन्द भएसँगै सरकारी अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढ्ने र यसले विपन्न तथा सर्वसाधारण नागरिकलाई उपचार पाउन थप सास्ती हुने निश्चित देखिएको छ।
.gif)

.png)

