गाजा र सुडानलगायत क्षेत्रमा स्वास्थ्य अवस्था नाजुक : डब्लुएचओ


२०८२ माघ २० मंगलबार २०:१८ बजे

काठमाडौँ : विश्व स्वास्थ्य संगठनले सन् २०२६ मा विश्वभर देखिएका गम्भीर स्वास्थ्य आपतकालीन अवस्थाहरूको सामना गर्न करिब एक अर्ब अमेरिकी डलर बराबरको सहयोग आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग आपतकालीन आह्वान गरेको छ । 

सङ्गठनका अनुसार युद्ध, आन्तरिक द्वन्द्व, प्राकृतिक प्रकोप, रोगको फैलावट तथा कमजोर स्वास्थ्य प्रणालीका कारण करोडौँ मानिसहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा जीवन बिताइरहेका छन् । धेरै देशहरूमा स्वास्थ्य संरचना ध्वस्त भएका छन् भने अस्पताल, औषधि, स्वास्थ्य उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण सामान्य उपचारसमेत प्रभावित भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गाजा, सुडान, कङ्गो लोकतान्त्रिक गणराज्य, हाइतीलगायतका क्षेत्रहरूलाई अत्यन्त सङ्कटग्रस्त क्षेत्रका रूपमा चिनाएको छ । ती स्थानहरूमा गर्भवती महिला, बालबालिका, वृद्ध तथा दीर्घ रोगीहरू सबैभन्दा बढी जोखिममा रहेका छन् । 

कुपोषण, सङ्क्रामक रोग, मानसिक स्वास्थ्य समस्या, मातृ तथा नवजात शिशुको मृत्यु दर तीव्र रूपमा बढिरहेको संगठनले जनाएको छ । साथै सुरक्षित खानेपानी, सरसफाइ र खोप सेवाको पहुँच कमजोर हुँदा रोग फैलिने सम्भावना झन् बढ्दै गएको छ ।

सङ्गठनका अनुसार आवश्यक आर्थिक सहयोग समयमै जुटाउन नसकिएमा जीवनरक्षक उपचार, रोग नियन्त्रण कार्यक्रम, आपतकालीन स्वास्थ्य सेवा र स्वास्थ्य प्रणाली पुनः स्थापनामा गम्भीर असर पर्नेछ । 

यसले लाखौँ मानिसको ज्यान जोखिममा पार्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले सरकारहरू, दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई मानवीय आधारमा तत्काल सहयोग गर्न आग्रह गरेको छ । समयमै सहयोग प्राप्त भएमा सङ्कटग्रस्त क्षेत्रका जनताको जीवन रक्षा गर्न र स्वास्थ्य प्रणालीलाई पुनः सुदृढ बनाउन ठूलो योगदान पुग्ने सङ्गठनको विश्वास छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७