गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको घोषणा
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवगठित शान्ति बोर्डमार्फत गाजाका लागि मानवीय सहायता तथा पुनर्निर्माणमा पाँच अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सन् २०२६ फेब्रुअरी १९ मा शान्ति बोर्डका सदस्य राष्ट्रहरूसँग सहभागी हुने र त्यहाँ गाजामा मानवीय प्रयास तथा पुनर्निर्माण सहयोगसम्बन्धी प्रतिबद्धता सार्वजनिक गरिने उल्लेख गरेका हुन् । गाजामा सुरक्षा सुदृढ गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आईएसएफ) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी परिचालन गरिएको पनि उनले बताए ।
आगामी बैठकले शान्ति बोर्डको पहिलो औपचारिक पहललाई प्रतिबिम्बित गर्ने बताइएको छ। ट्रम्पले उक्त पहललाई गाजाको भविष्यका लागि निर्णायक कदमका रूपमा उल्लेख गरेका छन्।
यसअघि न्युयोर्क टाइम्स ले अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापना तथा सम्बन्धित परियोजनाका लागि एक अर्ब डलरभन्दा बढी सहयोग गर्ने वाचा गरेको जनाएको थियो।
ह्वाइट हाउस का एक अधिकारीका अनुसार आगामी दिनमा थप आर्थिक प्रतिबद्धता आउने अपेक्षा गरिएको छ। गत सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको २० बुँदे शान्ति योजनाले युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने र शान्ति बोर्डले कोष व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।
स्रोतका अनुसार आर्थिक प्रतिबद्धताको ठूलो हिस्सा गाजाका मानवीय परियोजना तथा आईएसएफलाई समर्थन गर्न विनियोजन गरिनेछ।
जनवरी २२ मा ट्रम्पद्वारा सुरु गरिएको शान्ति बोर्डमा हालसम्म २० भन्दा बढी देश सहभागी भइसकेका छन्। बोर्डको स्थापना चार्टर स्विजरल्याण्डको डाभोस मा आयोजित विश्व आर्थिक फोरम को एक समारोहमा हस्ताक्षर गरिएको थियो।
.gif)

.png)

