कल्पना गरौँ त ! साइकल डोहोर्‍याइरहेका यी गाजावासी हाम्रा छोरा हुन्, निदाइरहेका नाती नातिना


२०८२ असोज ८ बुधबार ११:१५ बजे

जीवन क्षेत्री

रातको अन्धकार । निरन्तरको गोलाबारी । घाइते शरीर । दुई केटाकेटीको बाबु हुनुको जिम्मेवारी । एकपल्ट यी गाजावासी प्यालेस्टिनी युवालाई हेर्नुस् त । 

चकमन्न रातमा इजरायलको गोलाबारीबाट यी केटाकेटीलाई बचाउन अज्ञात गन्तव्यतिर जाँदै छन् उनी । साथमा छ साइकल । दिनभरका भोका, प्यासा र लखतरान केटाकेटी साइकलमै सुतिदिन्छन् । तिनको देश छैन, जमिन छैन, सम्पत्ति छैन । भोलि बिहान के खाने भन्ने टुंगो छैन । बिहानसम्म ज्युँदो बचिन्छ भन्ने समेत टुंगो छैन । 

तर बाबुले डोहोर्‍याएको पुरानो साइकलको डण्डी र पछिल्लो सिटमा ती मस्त निदाएका देखिन्छन् । तिनलाई यति थाहा छः ती अझै ज्युँदै छन् । अनि तिनका साथमा बाबु छन् । तिनलाई यो पनि थाहा छः तिनका गनेर नसकिने साथीहरू, भाइबहिनी र दाइदिदीहरू त्यत्तिको भाग्यमानी पनि छैनन् । तीमध्ये हजारौं मारिइसकेका छन्, दशौं हजारले बाबुआमा दुवै गुमाएका छन् । न घरको ओत छ, न बाबुआमाको ।

जेजति भौतिक सुविधा हुँदा पनि पुगेन भनेर निमोठिइरहने तपाइँका बालबालिका बुझ्न सक्ने उमेरका छन् भने कृपया यो तस्वीर र यसभित्रको कथा सुनाइदिनुहोला । आज गाजा, अफगानिस्तान, सुडान, इथियोपिया, बर्मालगायत दर्जनौं देशका करोडौं बालबालिकाहरु आज यही हालतमा छन् । तिनका लागि दुई छाक खान पाउनु नै सपनाजस्तो भइसकेको छ, कापीकलम समातेर स्कुल जानु त कल्पनाबाहिरकै कुरा भयो । प्रत्येक १० सेकेन्ड हाराहारीमा भोक र कुपोषणजन्य रोगले एउटा बच्चाको ज्यान जाने गरेको छ।

आज इजरायलले गाजामा गरिरहेको जातीय सफायाले सिंगो मानव जातिको शिर लज्जाले निहुराइदिएको छ । विवश प्यालेस्टिनी बालबालिका र तिनका अभिभावकहरुका निर्दोष ज्यान बचाउन केही गर्न नसकेकोमा हामी संसारभरका नागरिकहरू ग्लानि र अपराधबोधले गलेका छौं । तर गाजामा नरसंहार गरिरहेका इजरायली शासकहरू र अमेरिकीलगायत तिनका रक्षक र दाताहरूको रगतको प्यास अझै मेटिएको छैन । त्यसैले अहिले लाखौं लाख गाजावासीहरूलाई स्थायी रुपमा विस्थापित गर्ने र अरु दशौं हजारलाई मार्ने अभियान चलिरहेको छ । त्यसले अरु हजारौं बालबालिकाहरूलाई यही हालतमा पुर्याउने निश्चित छ । 

अवस्था योभन्दा खराब त के नै हुन सक्छ र भन्ने तपाइँलाई लाग्ला तर अघिल्लो शताब्दीमा यस्तै रगतका भोका शासकहरूको एउटै नाजी जत्था एक करोडसम्म मानिसको ज्यान लिन सफल भएका थियो । मानिसले पृथ्वीमा मच्चाउन सक्ने बर्बादीको कुनै सीमा छैन। त्यसैले संसारमा जहाँ पनि यस्तो बर्बरता फेला पर्छ, त्यसको विरोध गर्ने र यसरी पीडैपीडामा बाँच्न बाध्य पारिएकाहरूप्रति करुणा र समानुभूति देखाउने हाम्रो कर्तव्य हो । 

एकपल्ट कल्पना गर्नुस् त, भविष्यको कुनै बिन्दुमा ती युवा बाबुको ठाउँमा तपाइँ हामी हुन सक्छौं र त्यो साइकलमा निदाउने हाम्रा बालबालिका हुन सक्छन् । अथवा ती युवाको ठाउँमा हाम्रा छोराछोरी र साइकलमा नातीनातिनी हुन सक्छन् । समाज र देश कुन रफ्तारमा बर्बाद हुन सक्छन् भन्ने कुराको एउटा झलक नेपालमा भदौ २४ गतेको आगजनी, अराजकता र राज्यविहीनताले दिइसकेको छ। यदि अहिले नबोल्ने हो भने, जब हाम्रो पालो आउँछ तबसम्म धेरै ढिला भैसकेको हुनेछ। 

(जीवन क्षेत्रीको फेसबुकबाट ।)

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७