गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु
काठमाडौँ : गाजामा शनिबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको नागरिक रक्षा उद्धार सेवाले जनाएको छ। आक्रमण अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै दुईवटा क्षेप्यास्त्र प्रहार गरेर गरिएको बताइएको छ।
मध्य गाजाको अल–अक्सा अस्पतालमा छ जनाको शव पुगेको र सात जना घाइते उपचारका लागि ल्याइएको उल्लेख गरिएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। नजिकैको अल–अवदा अस्पतालमा एक जनाको मृत्यु भएको र थप दुई जना घाइते भएको जानकारी दिइएको छ।
सन् २०२३ मा सुरु भएको सीमापार आक्रमणपछि जारी द्वन्द्वको क्रममा अक्टोबर १० देखि लागू भएको युद्धविराम उल्लङ्घन गरेको आरोप इजरायल र हमासले एक–अर्कामाथि लगाउँदै आएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता कम्तीमा ७३८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ। यसैबीच इजरायली सेनाले पनि युद्धविरामपछि पाँच जना सैनिक मारिएको जनाएको छ।
गाजामा जारी मिडिया प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इजरायली अधिकारीहरूले अझै प्रवेश अनुमति नदिएको एएफपीले जनाएको छ।
.gif)

.png)

