नुवाकोटमा प्रहरीको पाँच शय्याको फिल्ड अस्पताल


२०८३ भदौ २७ शनिबार १८:१७ बजे

नुवाकोट :  नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।

त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएपछि बाढीपश्चात् फैलन सक्ने सङ्क्रामक रोगको जोखिम नियन्त्रण तथा प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले लेभल–१ फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो।

अस्पतालबाट विशेषज्ञ चिकित्सकसहित चौबीसै घण्टा आकस्मिक सेवा, बहिरंग सेवा (ओपीडी), वार्ड, प्रयोगशाला तथा औषधिसहितका सेवा निःशुल्क उपलब्ध गराइएको प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिए।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण मानवीय तथा पशुचौपायाको क्षति भएपछि फैलन सक्ने सङ्क्रमणजन्य रोग नियन्त्रणलाई प्राथमिकतामा राखेर फिल्ड अस्पताल सञ्चालन गरिएको उनले बताए।

‘बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य उपचारका लागि प्रहरीले विशेषज्ञ जनशक्ति, आवश्यक यन्त्र–उपकरणसहित औषधि सेवा निःशुल्क उपलब्ध गराएको छ,’ पौडेलले भने, ‘बाढीले पुल बगाएकाले त्रिशूली अस्पतालको सेवा लिन रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रका बासिन्दालाई कठिनाइ भइरहेको छ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञसहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको हो।’

विपद्पछिको अवस्थामा सङ्क्रामक रोग फैलिने जोखिम उच्च हुने भएकाले सावधानी अपनाउनसमेत अपिल गरिएको छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी उपचार गर्नु पनि चुनौतीपूर्ण हुने भएकाले मनोपरामर्शसहितको स्वास्थ्य सेवालाई फिल्ड अस्पतालले प्राथमिकता दिएको छ।

होल्डिङ सेन्टरमा विभिन्न बस्तीका बासिन्दा एकै ठाउँमा बस्दा सङ्क्रमण फैलिन सक्ने जोखिम रहेकाले स्वास्थ्यकर्मीमार्फत आवश्यक सावधानी अपनाउन सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

शव तथा सिनोको दुर्गन्ध, प्रदूषित पानी र प्रतिकूल मौसमका कारण हैजा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै फिल्ड अस्पतालमा विशेषज्ञ चिकित्सक तथा आवश्यक औषधिको व्यवस्था गरिएको छ।

‘विपद्पछिको समयमा प्रभावितमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रमुख चुनौती मानिन्छ,’ रेग्मीले भने, ‘स्वास्थ्यमा देखिएका शारीरिक समस्यामात्र नभई उनीहरूको मानसिक अवस्थामा परेको अज्ञात प्रभावलाई समेत नजिकबाट बुझेर समाधान गर्न अस्पतालले जोड दिनेछ।’

यसैबीच, बाढीमा हराएका व्यक्ति तथा भेटिएका बेवारिसे शवको पहिचानका लागि प्रहरीले फिल्ड अस्पताल परिसरबाटै डीएनए परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ।

बाढीमा हराएका व्यक्तिका परिवारका सदस्यको नमुना संकलनका लागि यसअघि काठमाडौं पुग्नुपर्ने बाध्यता हटाउँदै प्रहरीले विदुरमा सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको हो। बाढीमा परी परिवारका सदस्य हराइरहेका भए डीएनए नमुना उपलब्ध गराउन प्रहरीले सम्बन्धित परिवारलाई अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७