नेकपामा नआए विप्लवले पछुताउनु पर्नेछ : प्रचण्ड
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई आत्म समीक्षासहित बृहत् कम्युनिस्ट एकतामा सामेल हुन आग्रह गरेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गर्दै कम्युनिस्ट एकतामा नआएपछि पश्चात्ताप हुन सक्ने बताएका हुन् ।
उनले समाजवादी मोर्चामा रहँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योलमा परेको दाबी गरे ।
प्रचण्डले कुनै आवेगमा नभई राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट घटकहरूबीच एकता गरेर शक्ति आर्जनको प्रयास गरिएको बताए । उनले अहिले उक्त अवसर गुमेको उल्लेख गर्दै अझै पनि आत्म समीक्षासहित आए स्वागत गर्न तयार रहेको बताए ।
देश असहज परिस्थितिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनातर्फ जान सक्ने उनको भनाइ छ ।
कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालसहितका नेताहरू नेकपामा प्रवेश गरेका थिए ।
.gif)

.png)

