बागमतीका मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने
राप्रपाको विवादबीच विश्वासको मत लिने तयारी
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ७ गते विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापामगरले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। नयाँ सत्ता समीकरणअनुसार एमाले, नेकपा र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि थापामगरले चार दिनमै विश्वासको मत लिन लागेका हुन्। राप्रपामा देखिएको आन्तरिक समस्याका कारण छिट्टै विश्वासको मत लिन लागिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ।
.gif)

.png)

