सरकार संवेदनशील बन्नुपर्छ, प्रधानमन्त्रीले सबै दललाई विश्वासमा लिएर संवाद गर्नुपर्छ: प्रचण्ड
‘राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी देखाउने बेला हो’
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरी घटनाको विषयलाई लिएर सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न अपिल गरेका छन्।
बुधबार बिहान सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले अहिले राजनीतिक तिक्तता बढाउने समय नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको बताए।
‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो। सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्नुपर्छ। यही नै अहिलेको राष्ट्रिय आवश्यकता हो,’ उनले भने।
प्रचण्डले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउनुपर्ने बताए। विगतमा भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता जटिल परिस्थितिमा दलहरूले सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै उनले अहिले पनि राजनीतिक परिपक्वता र संवाद आवश्यक रहेको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले यस्ता संवेदनशील विषयमा साझा समाधानका लागि थप सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे। ‘यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ,’ उनले भने।
प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने भन्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिने बताए। उनले घटनास्थलमा स्थानीय पक्षसँगै बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भन्दै सबै पक्षलाई उच्च सतर्क रहन आग्रह गरे।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओलीलगायत विभिन्न दलका नेताहरू सहभागी भएका थिए।
.gif)

.png)

