प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : संवादका लागि ‘म पर्याप्त छु, कोही चाहिँदैन’ भन्ने अहंकारले रोक्या हो ?
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारलाई दुई तिहाइ बहुमतको दम्भ नपाल्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको दाबी गरे । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिपक्षसँग संवादमा आउन आग्रह गर्दै संवादले प्रधानमन्त्रीको कद घटाउने नभई अझ बलियो बनाउने बताए ।
प्रचण्डले नेपालमा विगतका अनुभव बोकेका नेता, बुद्धिजीवी र विज्ञहरूको ठूलो पङ्क्ति रहेको उल्लेख गर्दै उनीहरूसँग सहकार्य र संवाद गर्न प्रधानमन्त्रीलाई कुनै अवरोध नरहेको बताए । प्रचण्डले भने, ‘नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता, बुद्धिजीवी र विज्ञहरूको विशाल पङ्क्ति छ। ठूलठूला अप्ठ्यारा परिस्थितिलाई निकास दिने क्षमता राख्ने नेताहरूको पङ्क्ति छ। उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला, मलाई अनौठो लाग्छ।’
प्रचण्डले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका नेता तथा सामाजिक न्याय र सुशासनका पक्षमा लडेका व्यक्तिहरूसँग संवाद गर्नुपर्ने बताए । प्रचण्डले प्रधानमन्त्री शाहले आफूलाई बोलाएर छलफल गरेको भए भ्रष्टाचारविरुद्धको अभियान र सरकार सञ्चालनका विषयमा आफ्ना अनुभव साझा गर्न तयार रहेको समेत बताए ।
उनले भने, ‘उहाँले मलाई बोलाएर एकचोटी तपाईंले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु गर्नुभएको थियो, के ले तपाईंलाई सफल हुन दिएन भनेर सोधे पनि हुन्थ्यो। सबै कुरा प्रस्ट पारिदिन तयार छु।’ प्रचण्डले प्रधानमन्त्रीलाई अहंकारबाट टाढा रहन सुझाव दिँदै भने, ‘के ले रोक्या उहाँलाई? आफ्नै अहंकारले रोक्या हो कि? म पर्याप्त छु, अब मलाई कोही चाहिँदैन भन्ने खालको हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो।’
‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिनको माग गरे । ‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ उनले भने, ‘यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ?’
.gif)

.png)

