पाँच वर्ष मात्रै राजनीति गर्ने हो भने अहिले नै फूलमाला लगाएर विदा गर्छु : रवि लामिछाने
मन्त्री–सांसदलाई रविको निर्देशन : प्रचार होइन, परिणाममुखी काम गर्नुस्
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदलाई आफ्नो कार्यशैली सुधार्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। बुधबार सिंहदरबारमा मन्त्री तथा सांसदसँगको छलफलमा उनले राजनीति पाँच वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर विदा गर्ने चेतावनीसमेत दिएका छन्।
नेता लामिछानेले आगामी दिनमा सरकारको कार्यशैली परिवर्तन हुने भए पनि तत्काल मन्त्री परिवर्तनको तयारी नरहेको स्पष्ट पारे। प्रधानमन्त्री तथा दलका नेता बालेन शाहसहित छिट्टै दलको बैठक बस्ने उनले बताए। उनले सांसद र मन्त्रीलाई संसदीय मर्यादा कायम गर्न, आपसी समन्वय बढाउन तथा जनताका प्रश्नलाई सम्बोधन गर्न निर्देशन दिए।
संसद्को नियमावली पालना गर्नुपर्नेमा जोड दिँदै उनले अमर्यादित गतिविधि नगर्न पनि आग्रह गरे। मन्त्रीहरूको कामबारे प्रश्न भए सम्बन्धित मन्त्रीलाई सिधै लेखेर आफूलाई बोधार्थ दिन उनले सांसदलाई निर्देशन दिएका छन्। नियुक्तिमा योग्यता र समावेशितालाई सँगसँगै अघि बढाउन पनि उनले सुझाव दिए।
प्रधानमन्त्री शाहको ‘एक्लै लड्नुपर्छ’ भन्ने स्ट्याटसबारे पत्रकारको प्रश्नमा लामिछानेले शाह कवि तथा कलाकारसमेत भएकाले हरेक शब्दको राजनीतिक अर्थ खोज्न नहुने बताए। ‘यत्रो सिंगो पार्टी सँगै उभिएको छ, कहाँ उहाँ एक्लो हुनु?’ उनले भने। लामिछानेले रास्वपाभित्र मन्त्री परिवर्तनबारे अहिले कुनै तयारी नरहेको र पार्टीमा झगडा पनि नभएको बताए। केन्द्रीय समितिलाई विधानअनुसार क्रमशः पूर्णता दिँदै जाने उनको भनाइ थियो।
.gif)

.png)

