‘जेनजी’का प्रदेश संयोजकहरुका अपिल : देशलाई हिंसातर्फ धकेल्ने षड्यन्त्रको प्रतिरोध गरौं
उनीहरुले भनेका छन्, ‘हामी व्यवस्था र संविधान विरोधी होइनौं तर संविधानमा भएका त्रुटी र कमजोरीहरूलाई संशोधन गर्दै मुलुकलाई दीर्घकालीन समाधान दिने कार्य हाम्रो राजनीतिक अभिभारा हो ।’

काठमाडौं : ‘जेनजी’का ७ वटै प्रदेश संयोजकहरुले ‘जेनजी’ विद्रोहको बदनाम गरेर मुलुकलाई अस्थिरता र हिंसातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यस विरुद्धमा उभिन अपिल गरेका छन् । अहिले विभिन्न स्वार्थ समूह आफ्नो राजनीतिक रोटी सेक्न मुलुकलाई अस्थिरता, अराजकता र हिंसात्मक गतिविधितर्फ धकेलेर मुलुकलाई संकटमा लैजान सक्रिय भएको उनीहरुको दाबी छ ।
उनीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘अहिले विभिन्न स्वार्थ समूह आफ्नो राजनीतिक रोटी सेक्न मुलुकलाई अस्थिरता, अराजकता र हिंसात्मक गतिविधितर्फ धकेली थप संकटको मोडमा पुर्याउन तल्लीन छन् । त्यस्तो स्थितिविरुद्ध दृढतापूर्वक सामना गर्नुको विकल्प छैन ।’
सुधन गुरुङ निकट ‘जेनजी’का कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ, सह-संयोजक लक्ष्मी घिमिरे, मधेस प्रदेश संयोजक शिव यादव, बागमती प्रदेश अफ्साना बानु, गण्डकी प्रदेश संयोजक प्रदिप पाण्डे, लुम्बिनी प्रदेश संयोजक आदित्य आचार्य, कर्णाली प्रदेश संयोजक सुप्रिया शाही, सूदुरपश्चिम खेमराज साउदले मंगलबार साझ संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा कोशी प्रदेशको ठाउँमा प्रदेश नम्बर एक उल्लेख छ । यसको अर्थ उनीहरुले कोशी नामकरणमा फरक मत राखेको अर्थ बुझिन्छ ।
उनीहरुले जेनजी विद्रोहलाई अपराधीकरण गर्न र बदनाम गर्न विभिन्न स्वार्थ समूह सक्रिय उल्लेख गर्दै देशभरका सम्पूर्ण जेनजीहरूबीच एकता र समन्वयको अपिल पनि गरेका छन् । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुने योजनावद्ध प्रहारको पनि प्रतिरोध गर्ने जनाएका छन् । भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुने कुनै पनि योजनावद्ध प्रहारको हामी दृढतापूर्वक सामना गर्नेछौं ।’
उनीहरुले जेनजी विद्रोह केवल सरकार परिवर्तन लागि मात्रै नभएर समावेशी लोकतन्त्रलाई थप उन्नत र बलियो बनाएर अवस्था रूपान्तरण गर्नका लागि भएको बताएका छन् । भनेका छन्, ‘नयाँ सरकार र नेतृत्वले मात्र नागरिकको अवस्था बदल्ने र देशमा परिवर्तन ल्याउने होइन । एउटा सरकार ढालेर अर्को सरकार स्थापना गर्नु मात्र पनि जेनजी विद्रोहको उद्देश्य होइन । भ्रष्टाचारमुक्त शासन व्यवस्थामा हुने सार्थक परिवर्तन सिंगो मुलुकको लक्ष्य हो । हामी जेनजी पुस्ताले विधिको शासन र जवाफदेही व्यवस्थालाई नै सबल बनाउने हो । हाम्रो विद्रोह समावेशी लोकतन्त्रलाई थप उन्नत र बलियो बनाउँदै देशको अवस्था रूपान्तरण गर्नका लागि भएको हो ।’
उनीहरुले जेनजी व्यवस्था र संविधान विरोधी नभएको पनि प्रष्ट पारेका छन् । भनेका छन्, ‘हामी व्यवस्था र संविधान विरोधी होइनौं तर संविधानमा भएका त्रुटी र कमीकमजोरीहरूलाई संशोधन गर्दै मुलुकलाई दीर्घकालीन समाधान दिने कार्य हाम्रो राजनीतिक अभिभारा हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउँदै देशमा विद्यमान विभेद र असमानतालाई सम्बोधन गर्नु हाम्रो साझा दायित्व हो । यसका लागि हामी कुनै पनि सम्झौता नगरी दृढतापूर्वक लड्नेछौं ।’