मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ। तर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ र केही स्थानमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा सोमबार र मंगलबार यी दुई प्रदेशका हिमाली, पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ। साथै, ती क्षेत्रका हिमाली भू–भागमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको बताइएको छ ।
महाशाखाले वर्षा र हिमपातको सम्भावनाले कृषि र पर्यटन क्षेत्रमा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी उकालो र पहाडी सडकहरूमा यात्रा गर्नेहरू, गोठालो तथा कृषि कार्यमा संलग्न किसानहरूलाई सावधानी अपनाउन भनिएको छ।
देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा भने मनसुन प्रभाव समाप्त भइसकेको छ । तर पश्चिमका केही भागमा अझै केही दिन मौसम अस्थिर रहने पूर्वानुमान गरिएको छ।