लागुऔषध खोज्न जाँदा लुटिएको प्रहरीको पेस्तोल फेला

काठमाडौँ : काठमाडौंबाट लुटेको प्रहरी पेस्तोलसहित कैलालीका एक युवक पक्राउ परेका छन् ।
प्रहरीले प्रयोग गर्ने टाइप –५४ लेखिएको चाइनिज पेस्तोलसहित घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय आकाश शाही पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी प्रमुख डिएसपी रमेशदत्त अवस्थीका अनुसार पक्राउ पर्दा शाही लागुऔषध प्रयोग गरेका कारण नशामा लठ्ठिएको अवस्थामा फेला परेका थिए ।
डिएसपी अवस्थीका अनुसार शाहीका विरूद्ध इप्रका सुख्खडमा विगतमा पनि लागुऔषध सम्बन्धी मुद्दा चलेको रेकर्ड छन्। उनी विरूद्ध मोटरसाइकल चोरी लगायतका मुद्दा पनि प्रहरीमा रहेको डिएसपी अवस्थीले बताए ।
सोमबार राति आफ्नै गाउँका युवासँग शाहीले झगडा र हातपात गरेपछि पीडितले इप्रका सुख्खडमा शाहीका विरूद्ध उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले मंगलबार घटनाबारे सोधपुछका लागि शाहीलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्दा उनी लागुऔषधमा लठ्ठ परेको अवस्था देखेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले घरमा लागुऔषध लुकाएको हुन सक्ने आशंकामा खान तलासी गर्न गएको थियो । त्यही क्रममा भान्सा कोठाको पुरानो बिग्रिएको सोलारको पाताभित्र लुकाएको अवस्थामा प्रहरीले प्रयोग गर्ने पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।