इलाममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौँ : इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ असोज १८ गतेदेखि बेपत्ता भएको थियो । स्थानीय खोलाले बगाएको करिब ४०० मिटर तल मङ्गलबार उनको शव फेला परेको छ । इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो । असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो ।
इलाम नगरपालिका ६ का महेन्द्र लिम्बू अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।