चुनावका लागि राजनीतिक वातावरण बनाउन सरकारलाई आयोगको सुझाव

काठमाडौँ : निर्वाचन आयोगले फागुन २१ गते प्रस्तावित प्रतिनिधिसभा चुनावका लागि राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने सुझाव दिएको छ।
मंगलबार सरोकारवालासँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आयोग चुनाव तयारीमा पूर्ण रूपमा जुटेको बताउँदै राजनीतिक दलहरूसँग सहकार्य आवश्यक रहेको स्पष्ट पारे।
भट्टराईले भने, 'राजनीतिक वातावरण बनाउनका लागि सरकारले राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउनुपर्छ। छलफल र प्राविधिक तयारीमा निर्वाचन आयोग पनि सक्रिय छ।'
निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको कार्य तालिकाबारे जानकारी दिँदै उनले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकारसँग सहकार्य हुने बताए । उनका अनुसार मतदान प्रक्रिया, आचारसंहिता लागू गर्ने लगायतका पक्ष निर्वाचन आयोगको क्षेत्राधिकार भित्र पर्छ भने सुरक्षाको जिम्मेवारी सरकारको क्षेत्राधिकारमा पर्ने भएकोले दुवै पक्षले समन्वय गरी काम गर्नुपर्नेछ ।
'सबैले मिलेर निर्वाचन सफल बनाउनुपर्ने हो,' उनले जोड दिए ।