ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगमा पठाइयो

काठमाडौँ : मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गराउन खोजेको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले जाँचबुझ आयोगमा पठाएको छ।
मंगलबार दिउँसो मृतकहरू पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीका परिवारले जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका थिए। तर प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार उक्त जाहेरी नियमित प्रहरी कारबाहीको क्षेत्रभित्र नपर्ने भन्दै सम्बन्धित जाँचबुझ आयोगमा पठाइएको हो।
परिवारले ओली र लेखकलाई मानवता विरुद्धको अपराध र राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए। यद्यपि मानवता विरुद्धको अपराध मुलुकी अपराध संहितामा उल्लेख नभएको प्रहरी स्रोतले जानकारी दिएको छ।
परिवारजन सोमबार नै जाहेरी लिएर प्रहरी परिसर पुगेका थिए। तर प्रहरी पक्षले तत्काल जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनीहरू अबेर रातिसम्म परिसरमै बसेका थिए।
त्यसपछि आइजिपी चन्द्रकुबेर खापुङ, काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआइजी दानबहादुर कार्की, र एसएसपी रमेश थापा गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफलका लागि गृह मन्त्रालय पुगेका थिए।
छलफलमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्दा उत्पन्न हुन सक्ने संवेदनशीलताबारे समीक्षा भएको स्रोतको भनाइ छ । त्यसै राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की र सुरक्षा निकाय प्रमुखहरूको बैठक बसेको थियो।