नेकपा बहुमतका ५ नेताहरूको सामूहिक राजीनामा

काठमाडौँ : धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) का पाँच नेताहरूले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिई पार्टीबाट अलग भएपछि आफूहरू स्वतन्त्र भएको घोषणासमेत गरेका छन् ।
पार्टी निकट कम्युनिस्ट युवा संगठन नेपालका अध्यक्ष हरिश भट्ट, केन्द्रीय सदस्य तथा सर्लाही सेक्रेटरी पदम मगर बिहानी, केन्द्रीय सदस्य तथा धादिङ सेक्रेटरी अविनास कुँवर, विदेश विभाग अन्तर्गत मध्यपूर्व सेक्रेटरी तथा केन्द्रीय सदस्य विक्रम पौडेल अनिस र युवा संगठनका केन्द्रीय सचिव प्रकाश शर्माले सामूहिक राजीनामा दिएका हुन् ।
भदौ २३ को प्रदर्शन र २४ गतेको ध्वंसमा संलग्नता जनाएका कारण पार्टीले उनीहरूसँग स्पष्टीकरण सोधेको थियो । तर, नीतिगत असहमति र आरोपप्रति असन्तुष्ट हुँदै उनीहरूले स्वतन्त्र हुने घोषणा गरेका हुन् ।
उनीहरूले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको जानकारी दिएका हुन् । नयाँ पुस्ताको आन्दोलनबारे नेतृत्वको बुझाइमा असन्तुष्ट भएपछि राजीनामा दिएको उनीहरूको भनाइ छ ।