प्रधानमन्त्रीले सिफारिस गरिन् ५ मन्त्रीको नाम

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गरिएको छ । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
त्यस्तै अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टिभीका सम्पादक थिए । दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।
महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।
त्यस्तै मदन परियारलाई कृषिमन्त्रीमा सिफारिस गरिएको छ । उनी पहिलो संविधानसभाले बनाएको राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका संयोजक हुन् । यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।