ओलीको अभिव्यक्तिप्रति राप्रपाका प्रवक्ता श्रेष्ठको आपत्ति : जेनजी र शहीदको अपमान भयो

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘हा हुँ गरेर आएको’ भन्ने टिप्पणी गरेर जनआन्दोलन र जेनजी विद्रोहको अपमान गरेको आरोप लगाएका छन्।
'जेनजी विद्रोहको जगमा बनेको सरकारका पक्ष र विपक्षमा बहस हुन सक्छ,' श्रेष्ठले लेखेका छन्, 'तर कुशासनविरुद्धको विद्रोहलाई 'हा हुँ' भन्ने पात्रले आन्दोलनको मूल मर्म र ७५ शहीदको बलिदान, कैयन् घाइतेको रगत तथा सडकमा उत्रिएका लाखौँ नागरिकको सम्मानमा धक्का पुर्याएका छन्।'
श्रेष्ठले भदौ २३ गतेको नरसंहार र जेनजी विद्रोहका दोषीहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ हुनु उनीहरूकै मनोबल बढाउने चेतावनीसमेत दिएका छन्। उनले सुशीला कार्की नेतृत्वको सरकारलाई दोषीलाई उन्मुक्ति नदिन आग्रह गरे।