टसमस छैनन् ओली, नेताहरुसँग ‘वान टु वान’ कुरा गरेर दशैंपछि मात्रै बैठक
सेनाले ‘रेस्क्यु’ नगर्ने अडान लिएपछि मात्रै ओलीले छोडेका थिए सत्ता
2025-09-22-12-40-40.jpg)
काठमाडौं : ‘जेनजी’ विद्रोहपछि देशको सत्ताबाट निकालिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी सत्तालाई बलियो बनाउने तयारीमा लागेका छन् । सेनाको ब्यारेकबाट भक्क्तपुरको गुन्डु फर्किए लगत्तै ओलीले नेताहरुसँग ‘वान टु वान’ संवाद गरेर आफ्नो पक्षमा वाताबरण बनाउन लागेका हुन् ।
स्रोतका अनुसार ओलीले एमालेका पदाधिकारीहरुलाई ‘वान टु वान’ भेट्ने तालिका बनाएका छन् । प्रत्येक पदाधिकारीहरु तथा मुख्य नेताहरुलाई भेटेर धारणा बुझ्दै आफ्नो पक्षमा उभिन भन्ने तयारीमा लागेका एक पदाधिकारीले बताए ।
ओलीले आफू निकट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई पनि गुन्डुमा नै बोलाएर कुरा गरेका छन् । यसैगरी ओलीलाई भेट्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आइतबार भक्तपुरको गुन्डु पुगेका थिए । पोखरेलले भने बाह्य र आन्तरिक परिस्थिति राम्रो नरहेको भन्दै बैठक बोलाउन सुझाव दिएका थिए । तर ओलीले जवाफ फर्काएनन् ।
तर ओलीले आफू निकटलाई दशैंपछि मात्रै बैठक राख्ने बताएका एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीहरुसँग ओलीले भनेका छन्, ‘मेरो बिरुद्धमा कसले के-के भन्दा रहेछन् ? कस्तो मोर्चाबन्दी गर्दा रहेछन्, हेरौंन । त्यो हेरेर बैठक राखौंला ।’
ओली निकट एक उपमहासचिवका अनुसार ओली पार्टी नेतृत्व छोड्ने त के आफ्नो कमजोरीको समिक्षा गर्न समेत तयार छैनन् । ती उपमहासचिव भन्छन्, ‘कमजोरीको महसुश छैन, बैठक पनि दशैंपछि मात्रै भन्नु भएको छ । पार्टीको आधिकारिक धारणा अब दशैंपछि मात्रै आउने भयो ।’
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले नेतृत्व परिवर्तन मार्फत् एमाले पुनर्निर्माण गर्नुपर्ने मत राखेका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल ओलीले नेतृत्व छोड्न नहुने भन्दै तिव्र अभियानमा छन् ।
उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र गुरु बराल चुपचाप छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ र पद्या अर्यालले धारणा पनि सार्वजनिक भएको छैन ।
भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल बन्दको विरुद्धमा २३ भदौमा जेन–जी पुस्ताले गरेको विद्रोहमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो भने ४ सयभन्दा धेरै घाइते भएका थिए । सोही दमनविरुद्ध भोलिपल्ट २४ गते देशभरि सर्वसाधारण सडकमा ओर्लिएपछि देशको अवस्था सुरक्षा निकायको नियन्त्रणबाहिर गएको थियो ।
२४ गते आन्दोलनकारीहरुले ज्यान लिने खतरा बढेपछि मात्रै ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । देश जलिरहेको बेला दिउँसो २ बजेसम्म ओली राजीनामापत्रमा हस्ताक्षर नगर्ने अडानमा थिए । तर, आन्दोलनकारीले बालुवाटारसमेत घेरे । उनी राजीनामा नदिएरै बालुवाटारबाट सुरक्षित स्थानतिर जाने तयारीमा थिए । ओली आक्रोशित भएपछि प्रधानसेनापति अशोकराज सिग्देल सलाम गरेर हिड्न खोजेका थिए, त्यसपछि अर्थमन्त्री पौडेल र ओलीका मुख्य सल्लाहकार रिमाललगायतले रोकेर छलफल गरेका थिए । सेनाले राजीनामा नदिई उनलाई रेस्क्यु नगर्ने बताएपछि मात्रै राजीनामा दिएका थिए ।
२४ गते देश सुरक्षा निकायको काबुबाहिर भएको अवस्थामा पनि ओली सुरक्षा अंगका प्रमुखहरु झगडा गरेर बसेका थिए । उनीहरूले पनि परिस्थिति असामान्य बन्दै गएकाले राजनीतिक निकासका लागि सुझाव दिए । तर, ओली उल्टै झोक्किएका थिए ।
ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने ? अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने ? तपाईंहरूको परिभाषित जिम्मेवारी जे हो, त्यो पूरा गर्नोस्, स्थिति ठीक हुन्छ । म यहाँ बस्ने कुर्सी ओगट्न होइन, राष्ट्रको चुनौती पूरा गर्नका लागि हो । तपाईंहरूले पनि त्यो पूरा गर्नोस् ।’ राजीनामा दिएर निकास दिन प्रधानसेनापतिले आग्रह गरेपछि ओली थप आक्रोशित बनेका थिए । उनीहरूबिचको संवाद नै असहज बनेको थियो ।
२३ गतेको विद्रोहमा १९ जना मारिएपछि पनि राती ३ बजेसम्म बालुवाटारमा ओली आफ्नो हठमा थिए । २३ गते भएको मन्त्रिपरिषद्को नियमित बैठकमा मन्त्रीहरुसँग भनाभन गरेर बसेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अघि सरेर भने, ‘सामाजिक सञ्जाल खोल्ने निर्णय हुने हो कि होइन, यसका आधारमा म सरकारमा रहने कि नरहने निर्णय गर्नु छ ।’
ओलीले सञ्जाल बन्दलाई निरन्तरता दिने पक्षमा अडान राखेका थिए । त्यसपछि पौडेलसँग भनाभन जस्तो भएको थियो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादमा बसेका थिए । स्रोतका अनुसार २४ को बिहान ३ बजेसम्म पनि आफ्नो हठमा थिए ओली ।