अनुसन्धान प्रतिवेदन : समयमै उपचार गरे मिर्गौला बचाउन सकिन्छ


२०८२ असोज ४ शनिबार १३:४७ बजे

काठमाडौँ : समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरूमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो ।

उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरो सर्जरी विभाग प्रमुख कन्सल्टेन्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिए ।

तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उनले बताए । ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उनको भनाइ छ । उनका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५०० जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ ।

त्यसै गरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ । पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुलिँदा मिर्गौला बिग्रने गर्दछ । यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गौला फुल्लिएको थाहा पाउँदैनन्, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरूको भनाइ छ ।

जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मिर्गौला बिग्रने प्राडा बस्नेतले बताए । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मिर्गौला हुने गर्दछ । पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्दछ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड) आफूखुसी खाँदा पनि मिर्गौला बिग्रने गर्दछ ।

वीर अस्पतालमा मिर्गौला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलो पटक अस्पताल आएको प्रमुख कन्सल्टेन्ट प्राडा बस्नेतले जानकारी दिए । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ । उनका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ ।

उहाँले मिर्गौला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गर्नुपर्दछ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७