‘जनताको अजेय शक्तिले संसार बदल्नेछ’
मोहनविक्रम सिंह
आज कामरेड जलजलाको मनमा विश्वको सम्पूर्ण रचना र पृथ्वीबारे समेत कैयौँ कुरा उठिरहेका थिए वा खेलिरहेका थिए । तिनीहरूबारे पहिले उनको ज्ञान एकदम सीमित थियो र अब ती सबैबारे उनले विहङ्गम दृष्टिकोणले विचार गर्न थालेकी थिइन् । विश्व कति विशाल थियो ।
असङ्ख्य तारा र ग्रहसहितको विश्व अत्यन्त विशाल थियो । जति विश्वबारे जानकारी प्राप्त भएको थियो, त्योभन्दा कैयौँ गुणा बढी भाग अन्धकारमा डुबेको थियो र त्यसबारे केही ज्ञान थिएन । ज्ञात ब्रह्माण्डबाहेक अरू कैयौँ अज्ञात ब्रह्माण्ड पनि हुन सक्दथे । त्यहाँ पृथ्वीमा भन्दा बेग्लै प्रकारको भौतिक स्थिति वा जीवन पनि हुन सक्दथ्यो ।
विश्व र त्यसको संरचनाबारे सोच्दा सोच्दै उनको ध्यान पृथ्वीतिर गयो । त्यसबारे उपन्यासमा लेखिएको छ– “पहिले उनले पृथ्वीबारे सामान्य रूपले नै सोच्थिन् तर अब उनलाई लाग्न थालेको थियो, पृथ्वीको महत्त्व पहिले उनले सोचेभन्दा कैयौँ गुणा ठुलो थियो । अब पृथ्वीप्रतिको उनको दृष्टिकोण अकस्मात बदलिएर गएको थियो । विभिन्न देश, राष्ट्र, जाति, धर्म वा संस्कृतिको घेरा भन्दामाथि उठेर उनलाई सम्पूर्ण संसारको माया लाग्न थाल्यो । सम्पूर्ण संसारप्रति उनको आत्मीयता बढेर गयो । उनलाई लाग्न थाल्यो, सम्पूर्ण पृथ्वी वा संसार उनको आफ्नो थियो ।”
पृथ्वीबारे सोच्दासोच्दै उनको ध्यान एउटा अर्को पक्षतिर गयो । पृथ्वीका कैयौँ भाग एकअर्काबाट बेग्लाबेग्लै देखिन्थे तर उनीहरूका बिचमा आपसमा विचित्र प्रकारको वा अभिन्न सम्बन्ध थियो । विभिन्नतामा एकता, सायद त्यो पृथ्वीको आधारभूत विशेषता थियो । त्यो कुराको उल्लेख गर्दै उपन्यासमा लेखिएको थियो– “संसारको सर्वोच्च शिखर सगरमाथा अनि संसारका अन्य हजारौँलाखौँ पर्वत शिखर वा पर्वत शृङ्खला बाहिरबाट ती सबै बेग्लाबेग्लै देखिन्थे तर भूगर्भीय दृष्टिले ती सबै एउटै विश्वव्यापी संरचनाका अङ्ग थिए र ती सबै विश्वव्यापी रूपमा अभिन्न रूपले आपसमा जोडिएका थिए । बाहिरबाट हेर्दा हिमशृङ्खला संसारको जति ठुलो भागमा फैलिएको देखिन्थ्यो, भूगर्भीय रूपमा त्योभन्दा संसारको कैयौँ ठुलो भागमा फैलिएको थियो ।”
त्यस सिलसिलामा अगाडि लेखिएको थियो– “संसारमा हजारौँलाखौँ झरना, खोला, नदी वा समुद्र थिए । ती सबै महासागरमा मिल्दथे । महासागरमा मिलेपछि उनीहरूको पृथक् अस्तित्व हराउँथ्यो । अब त्यहाँ न कुनै नदी, गङ्गा रहन्थ्यो, न मिसिसिपी, न ह्वाङ्हो, न भोल्गा । ती सबैको अस्तित्व समाप्त हुन्थ्यो । ती सबैको पृथक् अस्तित्वको निषेध हुन्थ्यो । यो निषेधले उनीहरूको महत्त्वलाई कम गर्दैन्थ्यो तर कैयौँ गुणामाथि बढाइदिन्थ्यो ।”
ती कुरा सोच्दासोच्दै उनको ध्यान “झिम्रुक नदी र चिबेचराको कता” खण्डकाव्यमा उल्लेखित कविताका तलका पङ्क्तितिर गयो–
अथाह जलराशीमा मिलेर
झिम्रुकको
पृथक् अस्तित्वको अन्त हुन्छ
झिम्रुकको निषेध हुन्छ
त्यही अन्त
त्यही निषेध
उनको महानताको कारण बन्न जान्छ
झिम्रुकका छालले अब
तुफान बनेर
समुद्रमा राज गर्छन्
बादलमा मिलेर
क्रान्तिको उद्घोष गर्छन् ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “उनले कैयौँ बेरसम्म महासागरमा मिलेर अस्तित्व समाप्त भएको तर महासागरमा मिलेर कैयौँ गुणा महान् भएको झिम्रुक नदीबारे सोचिरहिन् । झिम्रुक नदीको उनलाई माया लागेर आयो किनभने त्यो नदीसित उनका अजितको सम्बन्ध जोडिएको थियो । त्योभन्दा बढी खुसी उनलाई यो सोचेर लाग्यो कि अब झिम्रुकका छालले तुफान बनेर समुद्रमा राज गर्दथे र बादल बनेर क्रान्तिको उद्घोष गर्दथे ।
उनलाई अजितले झिम्रुक नदीको कथा सुनाउँथे । झिम्रुकका गीत गाएर सुनाउँथे । त्यो कथा सुनाउँदा वा गीत गाउँदा कामरेड जलजलालाई उनीभित्र स्वयम् झिम्रुकका लहरमा उठिरहेका क्रान्तिका ज्वारभाटाको आवाज सुन्थिन् । कुनै बेला इन्क्लाब जिन्दावादजस्ता क्रान्तिकारी नाराहरू ।
उनको मस्तिष्कमा मानव जातिको इतिहासको पाना घुम्न थाले । जङ्गलमी अवस्था । फलफूल र कन्दमूलमाथिका जीवननिर्वाह । ढुङ्गाका हतियारको प्रयोग, जङ्गली अवस्था, नग्न र अर्धनग्न अवस्था घुमन्ते जीवन उनीहरूले लाखौँ वर्ष त्यसरी नै आफ्नो जीवन बिताए । एक स्थानबाट अर्को स्थानमा घुम्दै जाँदा उनीहरूले कैयौँ देश—यद्यपि त्यो बेला कुनै देश हुँदैनथ्यो र उनीहरूले महाद्वीप मात्र पार गर्दै गएनन्—उनीहरूको जीवनको अवस्थामा पनि परिवर्तन हुँदै गयो । पुरानो ढुङ्गेयुग । नयाँ ढुङ्गेयुग पशुपालन कृषि युग आदि । त्यो प्रक्रिया लगातार अगाडि बढ्दै गयो । त्यो लामो ऐतिहासिक विकास क्रम पार गर्दै मानिस सभ्य अवस्थामा पुग्यो ।
सभ्य अवस्था झ् त्यो कुरा सोचेपछि कामरेड जलजला रोकिइन् । उनको ध्यान यो कुराप्रति गयो कि त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “जुन बेलादेखि मानिसले सभ्य अवस्थामा प्रवेश गऱ्यो, त्यो बेलादेखि नै शोषण, उत्पीडन र पराधीनताको इतिहास पनि प्रारम्भ भयो । मानिस जति जति सभ्य बन्दै गयो, शोषण, उत्पीडन र पराधीनताको प्रक्रिया पनि बढ्दै गयो । त्यसले अरू उच्च रूप लिँदै गयो ।
दासयुगबाट सामन्तवाद हुँदै अब शोषण प्रथाले पुँजीवादको रूप लिएको छ र त्यसले अब साम्राज्यवादको रूप पनि लिइसकेको छ, जो विश्वव्यापी शोषण व्यवस्थाको चरण हो । त्यसरी मानिसद्वारा मानिसमाथिको शोषणको प्रथाले पहिलेका चरणमा भन्दा अत्यन्त सङ्गठित र शोषणको रूप लिएको छ ।
उनको ध्यान यो कुराप्रति गयो कि “मानव जातिको इतिहासमा शोषण र उत्पीडनको युग प्रारम्भ हुनाका साथै त्यसका विरुद्ध वर्गसङ्घर्ष पनि लगातार अगाडि बढ्दै आएको छ । उनले सोचिन्, शोषण, उत्पीडनका साथै वर्गसङ्घर्ष उत्पन्न नभएको भए समाज कस्तो हुन्थ्यो होला ? सायद पूरै नर्क बन्थ्यो होला ।”
उपन्यासमा लेखिएको थियो– “पृथ्वी सम्पूर्ण ब्रह्माण्डको नै अमूल्य निधि हो । अन्य कुनै तारा वा ग्रहमा नभएका वा अहिलेसम्म जानकारी नभएका हावा, पानी, वनस्पति, जीवन पृथ्वीमा उपलब्ध छन् । मानिसका लाखौँ वर्षको दुःखबाट वा कठिन मिहिनेतपछि नै मानव जातिले सभ्यताको अवस्थामा प्रवेश गरेको हो तर त्यही सभ्यताले मानव जातिलाई शोषणप्रधान व्यवस्थाको’उपहार’ दिएको छ ।”
“एकै प्रकारको माटामा त्यस प्रकारका बेग्लाबेग्लै बिज कसरी पैदा भए ?” त्यो सोचेर जलजलालाई धेरै नै आश्चर्य लागेर आयो । उनले मनमनै भनिन्, “कति आश्चर्यजनक थियो प्रकृतिको रहस्यमय स्वरूप ।”
ती कुरा सोच्दासोच्दै उनलाई धेरै दुःख लाग्यो । उनले अजितलाई सम्झिइन् । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिको छ– “उनलाई जुन बेला कुनै कुरामा धेरै दुःख लाग्थ्यो, उनले अजितलाई सम्झिन्थिन् । उनले आफ्नो सबै दुःख अजितका अगाडि पोख्थिन । धेरै बेरसम्म उनी रोइरहन्थिन् । अत्यन्त दुःखको अवस्थामा पनि अजितले त्यससित जोडिएको सकारात्मक पक्षको सैद्वान्तिक र दार्शनिक प्रकारले व्याख्या गर्दथे । मानव समाजले भोग्दै आएका दुःख र कष्टको चर्चा गर्दथे । संसारभरिका शोषित जनता र क्रान्तिकारीले भोग्नुपरेको कठिन जीवनको चर्चा गर्दथे । गीता र साङ्ख्य दर्शनको लामो व्याख्या गर्दथे । ती कुरा सुन्दासुन्दै उनको मनको दुःख धेरै नै कम हुन्थ्यो । उनी प्रसन्न हुन्थिन् । उनी उत्साहित हुन्थिन् । उनले आफूमा नयाँशक्ति पैदा भएको महसुस गर्थिन् । उनलाई मानव जातिको उज्ज्वल भविष्यमाथि विश्वास लागेर आउँथ्यो । उनी सबै प्रकारका कष्ट र कठिनाइको सामना गरेर अगाडि बढ्न तयार हुन्थिन् तर अहिले अजित उनीसित थिएनन् तैपनि उनलाई लाग्न थाल्यो, अजित उनीसित सँगै छन् । उनले उनीसित कैयौँ कुरा गरेजस्तो लाग्यो । उनले केही भनेजस्तो लाग्यो । उनले के भनेका थिए ? उनले बुझिनन् तैपनि अजितले भनेको कुराबाट उनलाई लाग्न थाल्यो, उनले केही बेर पहिले जे सोचेकी थिइन्, त्यसको अर्को उज्यालो पक्ष पनि थियो ।”
कामरेड जलजलाको ध्यान यो कुराप्रति गएको थियो कि “जहिलेदेखि समाजमा शोषण, उत्पीडन प्रारम्भ भयो, त्यही बेलादेखि तिनीहरू विरुद्ध प्रतिरोध र सङ्घर्ष पनि चल्दै आइरहेको छ ।”
“जलजलालाई संसारका सम्पूर्ण शोषित, उत्पीडित जनताको त्यो शक्ति, त्यो अजय शक्तिमाथि अगाध विश्वास थियो ।”
“उनलाई विश्वास थियो, जनताको त्यो अजेय शक्तिले संसारलाई बदल्नेछ ।”
“धर्तीमा एउटा नयाँ र स्वर्गीय जीवन निर्माण हुनेछ ।”
कामरेड जलजलाको ध्यान विश्वभरि चलेका वर्गसङ्घर्ष, राष्ट्रिय आन्दोलन वा क्रान्तिकारी सङ्घर्षप्रति गयो । संसारको सम्पूर्ण मानचित्र उनको अगाडि घुम्न थाल्यो । पेरिस कम्युनको महान् क्रान्तिकारी युद्ध, रुसको समाजवादी क्रान्ति । चीन, भियतनाम, उत्तर कोरिया, क्युबा तथा पूर्वी युरोपका देशमा समाजवादी क्रान्ति, विश्व समाजवादी व्यवस्थाको निर्माण, वर्मा, मलाया र पेरूका क्रान्तिकारी आन्दोलन । भारतको नक्सलवाडी आन्दोलन । दक्षिण अमेरिकाका क्रान्तिकारी सङ्घर्ष । प्यालेस्टाइनको महान् राष्ट्रिय मुक्ति आन्दोलन । दक्षिण अफ्रिकाको गोरा जातिको प्रमुखका विरुद्ध सङ्घर्ष, अमेरिकामा रङ्गभेदका विरुद्ध सङ्घर्ष । विश्वका विभिन्न देशमा चलिरहेका मजदुर आन्दोलन । कति महान् र गौरवपूर्ण थियो, विश्वव्यापी रूपमा चलिरहेका क्रान्तिकारी आन्दोलनको मानचित्र । संसारमा चलेका ती क्रान्तिकारी सङ्घर्ष, ती सङ्घर्षमा त्यहाँका जनता र क्रान्तिकारीले प्रदर्शन गरेका असीम वीरता, त्याग र बलिदानले उनलाई जुन प्रेरणा, उत्साह र ऊर्जा प्रदान गरेका थिए । त्यसका आधारमा उनी अरू हजार वर्षसम्म पछाडि नफर्कीकन क्रान्तिकारी पथमा लगातार अगाडि बढिरहन पनि सक्नेछन् ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “विश्वव्यापी रूपमा चलेका क्रान्तिकारी आन्दोलन र वर्गसङ्घर्षबारे सोच्दासोच्दै जलजलालाई लाग्न थालेको थियो, त्यो वर्गसङ्घर्षले भौतिक र आर्थिक रूपमा मात्र विकास गरेको थिएन, त्यसले दर्शन, राजनीतिकशास्त्र, साहित्य, संस्कृति, कला, नैतिकता आदि सबै क्षेत्रमा उच्च र क्रान्तिकारी रूपमा विकास गरेको थियो । मार्क्स र एङ्गेल्सले मजदुर आन्दोलनलाई खालि उच्च र अन्तर्राष्ट्रिय रूपमा स्थापित र सङ्गठित मात्र गरेनन्, त्यसलाई मजबुत दार्शनिक धरातलमा पनि स्थापित गरे । कम्युनिस्ट घोषणापत्रले पुँजीवादभित्रको भौतिक नियमलाई उद्घाटित गऱ्यो । त्यसले यो स्पष्ट गऱ्यो कि स्वयम् पुँजीवादले उत्पादन प्रणालीलाई सामाजिक रूप दिँदै गइरहेको थियो । त्यसरी त्यसले पुँजीवादको अन्त तथा समाजवादी व्यवस्थाको निर्माणका लागि भौतिक आधार तयार पार्दै गइरहेको थियो ।”
उनको ध्यान यो कुराप्रति गयो कि विश्व समाजवादी व्यवस्थाको पतन भएको थियो तर त्यसको पतन दासयुग वा सामन्तवादको जस्तो पतन थिएन । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “दासयुग वा सामन्तवादको भौतिक आधार समाप्त भइसकेको थियो । त्यसकारण तिनीहरूको पुनः उदयको कुनै सम्भावना थिएन तर समाजवादको आधार समाप्त भएको थिएन । त्यो अरू विकसित हुँदै गएको थियो । उत्पादक शक्तिको स्वरूपले सामाजिक रूप लिदै गइरहेको थियो । त्यसले विश्वव्यापी रूप लिँदै गइरहेको थियो ।” त्यस प्रकारको भौतिक परिस्थितिका कारणले नै समाजवादको विकास वा विश्वव्यापी विजय असम्भावी थियो ।
अब कामरेड जलजलाको ध्यान गोर्कीको उपन्यास आमामा लेखिएको यो कुराप्रति गयो– “उनले (पावेल की आमाले) प्रकृतिका कैयौँ सुन्दर चिजलाई देखेर संसार धेरै राम्रो भएको बताएकी थिइन् ।”
“पावेलकी आमाको त्यो अनुभूतिलाई उनले धेरै नै राम्रो मानेकी थिइन्। वास्तवमा सम्पूर्ण विश्व नै धेरै सुन्दर थियो । खास गरेर सम्पूर्ण ब्रह्माण्डको भ्रमणको उनले परिकल्पना गरेकी थिइन्, त्यसपछि त उनलाई पृथ्वी धेरै राम्रो लाग्न थालेको थियो ।
उपन्यासमा अगाडि लेखिएको थियो– “जलजलाले कैयौँ बेरसम्म पृथ्वी र विश्वभरिका सुन्दर दृश्यबारे सोचिरहिन् । उनले जति जति त्यसबारे सोच्दै जान्थिन्, उनलाई सारा विश्व झ्न् झन् राम्रो लागेर आउँथ्यो र उनी झन् झन् आनन्दित हुँदै जान्थिन् ।”
उनी एउटा गढवाली सांस्कृतिक कार्यक्रम हेरेर सरस्वतीको घरमा पुगेकी थिइन् । उनी खाना नखाईकन उनलाई पर्खेर बसिरहेकी थिइन् । खाना खाएर उनी कोठामा जाँदा उनले उनका लागि केही फलफूल टेबुलमा राखिदिएकी थिइन् । उनले ती फलफूल देखेर मनमनै सोचिन्– “ती फलफूल सामान्य फलफूल मात्र थिएनन् । ती फलफूल सरस्वतीको उनीप्रतिको अगाध माया, स्नेह र आत्मीयताका मूर्त रूप भएजस्तो लाग्यो । ती प्रत्येक फलफूलमा एउटा ममतामयी आमाको तस्बिर झल्केको थियो ।”
त्यसपछि उनको ध्यान यो कुराप्रति गयो– “ती सामान्य फलफूल मात्र थिए तर ती सामान्य भौतिक पदार्थ मात्र थिएनन्, सृष्टिका अद्भूत रचना थिए । प्रकृतिका अनमोल वरदान ।”
संसारमा लाखौँकरोडौँ प्रकारका फलफूल थिए । तिनीहरूमा बेग्लाबेग्लै प्रकारका अनगिन्ती स्वाद वा गुण पाइन्थे ।
उनको ध्यान पुनः यो कुराप्रति गयो– “ती सबै फलफूल माटोबाट नै उम्रन्थे तर एकै प्रकारको माटोबाट उम्रने ती फलफूल रूप र गुण दुवै प्रकारले कसरी बेग्लाबेग्लै प्रकारका हुन गए ? उनीहरूका बिज अवश्य पनि बेग्लाबेग्लै हुन्छन् तर पुनः यो प्रश्न उठ्दछ : “एकै प्रकारको माटामा त्यस प्रकारका बेग्लाबेग्लै बिज कसरी पैदा भए ?” त्यो सोचेर जलजलालाई धेरै नै आश्चर्य लागेर आयो । उनले मनमनै भनिन्, “कति आश्चर्यजनक थियो प्रकृतिको रहस्यमय स्वरूप ।”
उनले कैयौँ बेरसम्म जङ्गल वा संसारभर फैलिएका रुख, वृक्ष तथा जङ्गलबारे सोचिरहिन् । उनले ती सबैलाई पहिले सामान्य नै ठान्थिन् तर अब उनलाई लाग्न थालेको थियो, जङ्गल उनले सोचेकोभन्दा कैयौँ गुणा बढी महत्त्वपूर्ण र रहस्यमय थियो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “मानिस र ती बेग्लाबेग्लै प्रकारका रुखविरुवाका बिचमा मानिसको उत्पत्ति भएदेखि नै सङ्घर्ष चल्दै आएको थियो । पहिले मानिसले रुखविरुवाका बिचमा आफ्नो जीवन र अस्तित्व कायम राख्ने प्रयत्न गर्दै आएका थिए । लाखौँलाखौँ वर्षसम्म उनीहरू त्यसरी नै आफ्नो अस्तित्व कायम राख्ने प्रयत्न गर्दै आए तर कृषियुग सुरु भएदेखि मानिसले वनजङ्गललाई विनाश गर्दै खेती गर्ने र बस्ती बढाउँदै आएको छ ।
“वनजङ्गल र मानिसका बिचको त्यो सङ्घर्ष लगातार चलिरहन्छ । मान्छेले आफ्नो बस्ती बढाउन जङ्गल फाड्दै जान्छ तर जहाँ मानिसको त्यस प्रकारको क्रियाकलापमा प्राकृतिक वा अन्य कुनै कारणले कमी आउँछ, जङ्गलको आफ्नो आधिपत्य कायम गर्ने प्रयत्न गर्दछ । संसारमा त्यस प्रकारका थुप्रै उदाहरण थिए ।”
यो सोचेर पनि उनलाई कम आश्चर्य लागेन कि संसारमा लाखौँकरोडौँ प्रकारका रुख, वृक्ष वा वनस्पति थिए । ती सबैका बीज कहाँबाट आए र ती सबै कसरी उत्पन्न भए ? त्यति मात्र होइन, तिनीहरूका बिचमा असङ्ख्य प्रकारका गुण वा विशेषता थिए । तिनीहरूमा त्यस प्रकारको विविधता पनि कसरी उत्पन्न भएको थियो होला ? त्यस प्रकारको विविधता देखेर नै अध्यात्मवादीले ईश्वरको कल्पना गरेका थिए होलान् तर उनको ईश्वरमाथि कुनै विश्वास थिएन । सायद वनस्पति विज्ञानले त्यो प्रकारको जबाफ खोज्ने प्रयत्न गरेको हुन सक्छ तर उनलाई त्यसबारे केही थाहा थिएन र उनका लागि त्यो एउटा रहस्यमय विषय नै थियो ।
संसारका असङ्ख्य प्रकारका फलफूल वा रुख, वृक्ष र वनस्पतिजस्तै संसारमा असङ्ख्य प्रकारका थलचर वा जलचर पनि थिए । उनले कैयौँ बेरसम्म तिनीहरूबारे सोचिरहिन् र उनले पावेलकी आमा संसारका विभिन्न प्रकारका पदार्थ देखेर विश्व धेरै सुन्दर भएको कुरा सोचेको सम्झिन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “जलजलाले कैयौँ बेरसम्म पृथ्वी र विश्वभरिका त्यस प्रकारका सुन्दर दृश्यबारे सोचिरहिन् । उनले जति जति त्यसबारे सोच्दै जान्थिन्, उनलाई सारा विश्व झन् झन् राम्रो लागेर आउथ्यो र उनी झन् झन् आनन्दित हुँदै जान्थिन् ।”
सरस्वती र जलजला सँगै बसेका थिए । उनीहरूले आपसमा विभिन्न विषयमा कुरा गरिरहेका थिए । कुरा गर्दागर्दै सरस्वतीले आफ्नो दिवङ्गत पतिको विषयमा बताउन थालिन्– “बिहानै ३ बजे उठेर उहाँले नियमित कार्य सिध्याएर योग, ध्यान, प्राणायाम गर्नुहुन्थ्यो । सायद त्यही कारणले उहाँ जीवनमा धेरै सफल बन्नुभएको थियो । सफल शब्द भनेपछि उनी केही रोकिएकी थिइन् । त्यसपछि उनले भन्न थालेकी थिइन्, सफल कसलाई भन्ने ? त्यसका बेग्लाबेग्लै व्याख्या हुन सक्छन् । त्यो व्याख्या मानिसको बेग्लाबेग्लै दृष्टिकोणअनुसार हुने गर्दछ । मेरा पतिले व्यक्तिगत जीवनमा कुनै सफलता प्राप्त गर्न सक्नुभएन । सम्पूर्ण जीवन भारतको स्वतन्त्रता आन्दोलनको लागि समर्पित गर्नुभयो । मानपदवी, धनसम्पत्ति केही कमाउनुभएन । त्यसैले आम रूपमा मानिसले उहाँलाई असफल व्यक्ति ठान्दथे । उहाँको पिताजी ब्रिटिस शासनअन्तर्गत एउटा ठुलो पदमा हुनुहुन्थ्यो । मेरो पतिले अङ्ग्रेज शासनको विरोध गर्न थालेपछि उहाँले आफ्नो छोरालाई र मलाई पनि घरबाट निकालिदिनुभयो । मेरो पति आफ्नो परिवार र इष्टमित्र सबैबाट अपमानित र बहिष्कृत हुनुभयो । उहाँले गरिबी र अभावको जीवन बिताउनुभयो । बारम्बार जेल जानुपऱ्यो । कैयौँपल्ट उहाँलाई धेरै पिटियो । अब उहाँलाई जीवनमा सफल भएको भन्ने वा असफल भएको भन्ने ? उहाँको नजिकका इष्टमित्रले उहाँलाई असफल भएको ठान्दछन् तर मैले सफल भएको ठान्छु ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “जलजलाले केही भनिनन् तर उनको मनमा सरस्वतीप्रति उच्च सम्मानको भावना पैदा भयो । उनले मनमनै उनको पतिप्रति सम्मान प्रकट गरिन् । उनले आफ्नो सिद्धान्त, मान्यता वा आस्थाको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका थिए ।” त्यसरी सरस्वतीले भनेको कुरा र जलजलाको मनको भावबाट सफल व्यक्ति को हो ? त्यसबारे समाजमा आम रूपमा प्रचलित धारणाभन्दा एउटा बेग्लै दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
कुरा चल्दाचल्दै सरस्वतीले यो पनि बताएकी थिइन्– “अर्को कुरा, ससुरा ब्रिटिस सरकारको एउटा उच्चपदस्थ अधिकारी थिए । त्यस्ता मान्छेको छोरासित विवाह हुन पाएकोमा उनी धेरै खुसी थिइन् तर उनको पतिले ब्रिटिस सरकारका विरुद्धको आन्दोलनमा भाग लिएको हुनाले उनका ससुराले आफ्ना छोरालाई घरबाट निकालिदिएका थिए । आफ्नो पतिका साथी, साथै उनी पनि घर छाडेर निस्कनुपरेको थियो । त्यसपछि उनीहरूले अत्यन्त गरिबी र अभावको जीवन बिताउनुपरेको थियो । त्यसपछि उनले आफ्नो पतिलाई माइतमा लगेर छाडिदिन भनेकी थिइन् र त्यसरी उनी आफ्नो पतिबाट पूरै अलग भएकी थिइन् । उनका पति उनलाई छोडेर फर्कंदा उनी वा उनका परिवारै आफ्नो ज्वाइँलाई कुनै आदर, सम्मान वा चियापानीको सोधपुछसम्म गरेका थिएनन् । त्यसरी आफ्नो पतिबाट अलग हुनुपरेकोमा सरस्वतीलाई धेरै प्रसन्नताको अनुभव भएको थियो । उनका ती कुरा सुनेर जलजलालाई धेरै नै दुःख लागेको थियो र उनले आश्चर्य चकित् भएर उनको मुखमा हेरेकी थिइन् ।”
“सरस्वतीले यो पनि बताएकी थिइन्, उनको माइतमा खालि उनको आमाले मात्र उनका पतिप्रति आदर, सम्मान प्रकट गरेकी थिइन् र आफ्नो पतिलाई छाडेकोमा उनीप्रति अत्यन्तै क्रुद्ध बनेकी थिइन् । उनकी आमाले उनलाई असाध्य माया गर्दथिन् तर त्यो घटनापछि उनलाई पूरै घृणा गर्न थालेकी थिइन् र बाचुञ्जेल उनकी आमा आफ्नी छोरीसित एकपल्ट पनि बोलेकी थिइनन् । आमाको त्यस प्रकारको व्यवहारप्रति सरस्वतीले पनि कुनै वास्ता गरेकी थिइनन् ।”
उपन्यासमा गीताको यो भनाइलाई उद्धृत गरिएको थियो : “मूर्खले फलको आशाले जसरी काम गर्दछन्, त्यस्तै विद्वान्ले संसारको भलो गर्ने इच्छाले काम गर्दछन् ।”
यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “जलजलाले आश्चर्य मानेर सरस्वतीलाई हेरिन् । उनको त्यो सबै व्यवहार उनलाई (जलजलालाई) एकदम राम्रो लागेको थिएन । जलजलालाई न उनको आफ्नो पतिप्रतिको व्यवहार राम्रो लागेको थियो, न आमाप्रतिको तर यो कुरा बताउँदा सरस्वतीका आँखाबाट आँसु झरेका थिए । त्यसबाट उनलाई लागेको थियो, उनलाई आफ्ना पति र आमाप्रतिको व्यवहारको लागि पश्चात्ताप थियो । त्यो देखेर जलजलाको मनमा उनीप्रति सहानुभूतिको भाव पैदा भयो । सरस्वतीको आमाप्रति भने उनको मनमा गहिरो आत्मीयता र सम्मानको भावना पैदा भयो ।”
पछि सरस्वतीले आफ्ना पतिलाई चिठी लेखेर बोलाइन् र उनी आफ्ना पतिसित सँगै बस्न थालिन् । उनका पति आफ्ना अङ्ग्रेज विरोधी गतिविधिमा सक्रिय भइरहन्थे र उनी कौसानीको लक्ष्मीआश्रममा बसेर त्यहाँ बालिकालाई पढाउने वा सकेजति आश्रमको सेवामा लाग्ने काम गर्दथिन् । दुवैको बिचमा जीवनभरि नै परस्परमा अत्यन्त प्रेम र एकअर्काप्रति आदरको भाव रहिरह्यो ।
उपन्यासमा अगाडि लेखिएको थियो– “सरस्वतीले देखिन्, जलजलाका आँखाबाट आँसु झर्न थालेका थिए । कति मार्मिक थियो, उनको त्यो कथा ? कति पवित्र र सच्चा थियो उनीहरूबिचको त्यो प्रेम । त्यो प्रेम कुनै व्यक्तिगत स्वार्थमाथि आधारित थिएन । त्यो देशप्रतिको निस्वार्थ सेवा, त्याग र बलिदानको भावनामाथि आधारित थियो । उनले सरस्वती र उनका पतिका बिचको प्रेममा अजित र आफ्नाबिचको प्रेम प्रतिबिम्बित भएको देखिन् ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “जलजलाले पनि अजितलाई सम्पूर्ण रूपले प्रेम गर्थिन् । उनीहरू दुवै जना आफ्ना सिद्धान्त कर्तव्य र आस्थाप्रति समर्पित थिए । उनिहरूको जीवनमा कैयौँ समस्या थिए । विवाद, दुःख र कष्ट थिए । आर्थिक समस्या थियो । दुवै जनाले भूमिगत रूपले काम गर्दथे । कुनै पनि बेला गिरफ्तारी हुन सक्थ्यो तर त्यो देखेर उनलाई धेरै नै आश्चर्य र आनन्द पनि लाग्थ्यो कि त्यस प्रकारको स्थितिमा पनि उनीहरू अलिकति पनि विचलित नभईकन धैर्य, दृढता र सन्तुलित प्रकारले अगाडि बढिरहने गर्दथे ।” उनका मनमा अजित र उनका बिचको प्रेमबारे कैयौँ कुरा घुमिरह्यो ।
अजित र उनका बिचको प्रेम विशुद्ध व्यक्तिगत प्रेम मात्र थिएन, त्यो पार्टी र क्रान्ति तथा देश र जनताको सेवाका उद्देश्यमाथि आधारित थियो । त्यसकारण त्यो उच्च थियो । पवित्र थियो । मजबुत धरातलमा स्थापित थियो । त्यो कुरामाथिको विश्वासले उनीहरू एकअर्काबाट हजारौँ माइल टाढा भए पनि उनीहरूलाई बाँधेर सँगै एकै ठाउँमा राख्थ्यो र त्यसले उनीहरूलाई असीम आनन्द प्रदान गर्दथ्यो ।
उनको ध्यान लक्ष्मीप्रसाद देवकोटाको यो कविताप्रति गयो–
“सबै खोज्छन् सुख भनि, सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ ।”
यो सानो कविता अत्यन्तै गम्भीर प्रकारको दार्शनिक महत्त्वको कविता थियो । यो कविताले सम्पूर्ण जीवन र मानवीय संवेदनालाई उच्च र गहन प्रकारले व्याख्या गरेको थियो ।
समाजमा पतिपत्नी, प्रेमीप्रेमिकामा परिवारजन वा इष्टमित्रमा हुने प्रेम कहाँसम्म त्यो कसौटीमा खडा उत्रन्छ ? त्यसपछि नै प्रेमको वास्तविक परीक्षा हुन्छ । सच्चा प्रेम त्यो नै हुन्छ, जो एकअर्काबाट कति लाभ हुन्छ भन्ने कुरामाथि विचार गरेरभन्दा आफूलाई मिटाई अरूलाई दिने कुरामा आधारित हुन्छ । पतिपत्नी वा प्रेमी प्रेमिकाका बिचको पनि त्यही अर्थमा नै सच्चा प्रेम हो ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “दुई पतिपत्नी वा प्रेमीप्रेमिकाका बिचको प्रेममा पनि एकअर्काबाट कति लाभ प्राप्त हुन्छ ? त्यसका आधारमा मूल्याङ्कन गर्न थालियो भने त्यो निकृष्ट प्रकारको प्रेम हुन्छ ।”
“त्यो वास्तवमा प्रेम नै होइन ।”
“त्यो व्यापार हो ।”
“जसको उद्देश्य नाफा वा व्यक्तिगत लाभ मात्र हुन्छ ।”
“त्यो सच्चा प्रेम त्यो बेला नै हुन्छ, जब दुवैले एकअर्काबाट के कति प्राप्त गर्नेभन्दा कति दिने भन्ने कुरामा मुख्य ध्यान केन्द्रित गर्दछन् ।”
“त्यसका लागि कुनै प्रयत्न गर्नुपर्दैन ।”
“स्वतः वा स्वतस्फूर्त रूपले जब त्यस प्रकारको भावना उत्पन्न हुन्छ, त्यसरी प्राप्त हुने सुख कैयौँ गुणा बढी हुन्छ ।”
“त्यो साँच्चिकै स्वर्गीय सुख हुन्छ ।”
“एउटा क्रान्तिकारीको सुख त्यही प्रकारको उच्चतम र असीम सुख हुन्छ ।”
“जब केही प्राप्त गर्ने कुरा नसोचीकन, निष्काम भावले आफ्ना सिद्धान्त, उद्देश्य, पार्टी, क्रान्ति वा देश र जनताको हितका लागि काम गर्दा प्राप्त हुने सुख, ब्रह्माण्डको सर्वोच्च सुख हुन्छ ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “ती कुरा सोच्दासोच्दै कामरेड जलजलालाई लाग्न थाल्यो, ॅआफू मिटाई अरूलाई दिनु जहाँ छ’ भन्ने भावना विश्वव्यापी रूपमा व्यापक छ । मूल तत्त्वको रूपमा त्यो भावना विश्वव्यापी रूपमा व्याप्त छ तर जब कुनै व्यक्तिले व्यक्तिगत वा पारिवारिक सीमाको परिधिबाट बाहिर निस्केर बृहत्तर समाजको सेवाका लागि, देश र जनताको सेवाका लागि यो सम्पूर्ण मानव जातिको सेवाका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्दछ । तब अद्भुत र विस्मयकारी शक्ति उत्पन्न हुनेछ । संसारमा महान् विस्फोट हुनेछ । अणुपरमाणुभन्दा शक्तिशाली विस्फोट । संसारमा त्यो एक प्रकारले ॅबिग ब्याङ’ हुनेछ । अरबौँ वर्षपहिले महान् विस्फोट भएजस्तै, जसको परिणामस्वरूप करोडौँअरबौँ तारा र ग्रह उत्पन्न भएका थिए ।”
“कामरेड जलजलाले पनि देवकोटाले प्रस्तुत गरेको मान्यताको आधारमा नै सुखको अनुभूति गर्ने प्रयत्न गर्न थालेकी थिइन्, निश्चय नै प्रयत्न मात्र । त्यसमा पूर्णता प्राप्त गर्न उनको चिन्तन र दृष्टिकोणमा धेरै नै विकासको आवश्यकता थियो । तैपनि उनको यो स्पष्ट दृष्टिकोण बन्दै गएको थियो कि सच्चा सुख व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रयत्नका आधारमा होइन, बढीभन्दा बढी समाज, देश र जनताको सेवाका दौरानमा नै प्राप्त हुन सक्छ । उनले क्रमशः अनुभूति गर्न थालेकी थिइन्, समाज देश वा जनताको हितका लागि, पार्टी र क्रान्तिका लागि, समाजमा विद्यमान सबै शोषण, उत्पीडन, अन्याय, अत्याचार, पराधीनता वा तिनीहरूमाथि आधारित समाजव्यवस्था वा राज्यव्यवस्थाका विरुद्ध सङ्घर्ष गर्दा, तिनीहरूको अन्त गरेर एउटा स्वतन्त्र, सुखी, सुन्दर र न्यायपूर्ण व्यवस्थाको निर्माणका लागि सङ्घर्ष गर्दा, त्यो सङ्घर्षमा अविरल रूपले अगाडि बढ्दा, त्यस प्रकारको सङ्घर्षका दौरानमा सामना गर्नुपर्ने सबै दुःख, कष्ट, त्याग र बलिदानका दौरानमा प्राप्त हुने सुख व्यक्तिगत र क्षुद्र स्वार्थ पूरा गर्दा प्राप्त हुने सुखभन्दा कैयौँ गुणा बढी उच्च र महान् हुन्छन् । त्यसरी उनले यो महसुस गर्न थालेकी थिइन्, सामान्य व्यक्तिगत स्वार्थहको सीमाभित्र कायम हुने प्रेमभन्दा त्यसरी प्राप्त हुने सुख कैयौँ गुणा बढी उच्च र महान् हुन्छ । व्यक्तिगत स्वार्थको सीमाभित्र हुने प्रेमभन्दा निःस्वार्थ प्रेममाथि आधारित प्रेम कैयौँ गुणा उच्च हुन्छ र त्यसबाट प्राप्त हुने सुख कैयौँ गुणा बढी हुन्छ ।”
कामरेड जलजलालाई यो सोचेर प्रसन्नताको अनुभूति भएको थियो कि “अजित र उनको प्रेम व्यक्तिगत स्वार्थको सीमाभन्दा धेरै उच्च धरातलमा स्थापित भएको थियो । त्यसैले त्यो प्रेमले उनलाई सामान्य प्रकारको प्रेमले भन्दा कैयौँ गुणा बढी सुख र आनन्द दिन्थ्यो ।
“अब उनले त्यही कोणबाट सुखको अनुभूति गर्न थालेकी थिइन् । उनले पार्टी र क्रान्तिका लागि गरेका कामका बदलामा के प्राप्त भयो ? त्यो कुराको होइन, उनले पार्टी वा आफ्ना सिद्धान्त र राजनीतिका पक्षमा के कति योगदान गर्न सकिन् ? त्यसबारे नै बढी चिन्ता गर्थिन् ।”
“वास्तवमा अजितसित बस्दा उनीसितको लामो छलफल र बहस र उनीहरूका बिचको प्रेमको क्रममा नै उनीहरूको त्यस प्रकारको दृष्टिकोणको विकास हुँदै गएको थियो ।”
अजितले उनीसित प्रायः साङ्ख्य दर्शनको कुरा गर्दथे । त्यो दर्शनले सुखदुःख, लाभहानि, मानअपमान, जयपराजय आदि सबैप्रति उदासिन तरिकाले सोच्ने कुरामा जोड दिन्थ्यो । अजितसित साङ्ख्य दर्शनबारे हुने गरेको त्यस प्रकारको छलफलबाट उनले क्रमशः आफूमा परिवर्तन भएको महसुस गर्न थालेकी थिइन् । आफ्नो चिन्तन र दृष्टिकोणमा परिवर्तन भएको महसुस गर्न थालेकी थिइन् । त्यसका साथै उनले आफूमा नयाँ प्रकारको दृढता र शक्तिको निर्माण भएको महसुस गर्न थालेकी थिइन् । उनलाई लाग्न थालेको थियो, उनी सबै प्रकारका गाली, अपमान, निन्दाभन्दा धेरैमाथि उठ्दै गएकी थिइन् । अब ती सबै कुराले उनीमाथि कुनै असर पार्न सक्दैनथ्यो । उनी ढाल बन्दै गएकी थिइन् । कुनै पनि वाण वा तरबारले उनलाई कुनै क्षति पुऱ्याउन सक्दैनथ्यो ।
अजितले उनीसित प्रायः गीताको कुरा गर्दथे । उनले गीताको यो श्लोकको बारम्बार चर्चा गर्दथे– “नैनं छिन्दन्ति शस्त्राणी नैनं दहति पावक :” त्यसको अर्थ यो हुन्थ्यो– ‘आत्मलाई शास्त्रले काट्न सक्दैन । आगोले डढाउन सक्दैन ।’
भौतिकवादीले आत्मा अमर हुन्छ भन्ने कुरा मान्दैनन् तर त्यो श्लोकमा जे लेखिएको छ, त्यो कुरा एउटा क्रान्तिकारीका लागि पनि सत्य हुन्छ । ऊ अजर, अमर हुन्छ । संसारको कुनै शक्तिले उसलाई पराजित गर्न सक्दैन । उसलाई नष्ट गर्न सक्दैन । जस्तोसुकै कठिन र प्रतिकूल परिस्थितिमा पनि ऊ लगातार अगाडि बढिरहन्छ । उसको उत्साह, आँट र मनोबलमा कहिल्यै कमी आउँदैन । कुनै क्रान्तिकारीमा त्यस प्रकारको अजेय शक्ति निःस्वार्थ कर्मयोगले दिन्छ । गीताको सार पनि त्यही थियो ।
गीताले निःस्वार्थ कर्ममा पनि जोड दिन्थ्यो । त्यसको अर्थ लगाउँदै अजितले यो कुरामा जोड दिन्थे, त्यो कुराको भौतिकवादी प्रकारले अर्थ लगाउदै भन्ने गर्दथे– “त्यसको मुख्य पक्ष निष्काम कर्म हो । त्यो कुराले हाम्रा लागि पनि ठुलो महत्त्व राख्दछ । त्यसको अर्थ यो हुन जान्छ, हामीले आफ्ना सबै काम पार्टी र क्रान्ति वा देश र जनताका लागि समर्पण गर्नुपर्छ र व्यक्तिगत फलको आशा नगरीकन कर्तव्य पूरा गर्ने प्रयत्न गर्नुपर्दछ ।”
उपन्यासमा गीताको यो भनाइलाई उद्धृत गरिएको थियो : “मूर्खले फलको आशाले जसरी काम गर्दछन्, त्यस्तै विद्वान्ले संसारको भलो गर्ने इच्छाले काम गर्दछन् ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “हाम्रो सम्पूर्ण ध्यान यो कुरामा केन्द्रित हुनुपर्दछ : “पार्टी वा क्रान्तिका लागि हामीले कति योगदान दिन सक्छौँ ? जब क्रान्तिकारीले व्यक्तिगत लाभलाई केन्द्रमा राखेर काम गर्न थाल्छन्, उनीहरूको पतन हुँदै जान्छ । पार्टीमा काम गरेपछि दुःख र कष्ट सहेपछि त्याग र बलिदान गरेपछि त्यसको बदलामा व्यक्तिगत रूपमा कति लाभ मिल्छ ? कसैले त्यसलाई प्राथमिकता दिएर सोच्न थाल्यो भने त्यो व्यक्ति लामो समयसम्म क्रान्तिको बाटोमा टिक्न सक्दैन । उसले आफ्ना कामका बदलामा लाभ प्राप्त भएन भने ऊ निराश हुन थाल्छ । निष्क्रिय हुन्छ । पलायन हुन्छ वा अवसरवाद तथा गद्दारीको बाटो समात्न पनि हिचकिचाउन्न ।”
अजितले भनेका कुरामा उनले बारम्बार विचार गर्ने गर्थिन् । उनले साङ्ख्य दर्शन वा गीताका जुन कुरामा जोड दिन्थे, सामान्य रूपमा हेर्दा त्यो कुरा कठिनजस्तो लाग्छ । अव्यावहारिक र विशुद्ध आदर्शवादी तर अजितले भन्थे– व्यक्तिगत स्वार्थबाटमाथि उठेर पार्टी र क्रान्तिका लागि, शोषितपीडित जनताको सेवाका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्ने कार्य विश्वव्यापी रूपमा क्रान्तिकारीले अभ्यास गर्दै आएको कुरा थियो । उनले यस कुरामा पनि जोड दिन्थे, जब एउटा क्रान्तिकारी त्यस प्रकारको निस्वार्थ सेवामा अभ्यस्त हुँदै जान्छ, त्यो कुरा त्यसको स्वभावको अङ्ग बन्दै जान्छ । त्यस प्रकारको कार्यबाट उसलाई असीम प्रकारको आनन्द र सुख प्राप्त हुन्छ, जो व्यक्तिगत स्वार्थबाट प्राप्त हुने सुखभन्दा कैयौँ गुणा उच्च र महान् हुन्छ ।
(मोहनविक्रम सिंहद्वारा लिखित भीमकाय उपन्यास ‘जलजला’ बाट)
.gif)

.png)

