बलात्कार प्रयासका आरोपीलाई उठबस गराएर मिलापत्र

पोखरा । पोखरामा नाबालिगमाथि बलात्कार प्रयास भएको घटनामा आरोपीलाई उठबस गराएर मिलापत्र गरेको पाइएको छ ।
पोखरा महानगरपालिका–२९ का ३० वर्षीय सुमन भण्डारीले एक बालिकामाथि बलात्कार प्रयास गरेका स्थानीयको आरोप छ ।
बुधबारको उक्त घटनामा पिडक बालिकाको कोठामा सुटुक्क पस्छन् । बालिका उठेर बत्ती बाल्दा ती व्यक्तिलाई देखेर चिच्याउँछिन् । पिडक हतारमा आफ्नो मोबाइल छाडेर भाग्छन् । भोलिपल्ट पीडित परिवारले टोल विकास समितिमा खबर गर्यो । समितिले ती युवकलाई सामान्य माफी मगाएर छाड्यो ।
तर, पीडित परिवारलाई चित्त नबुझेपछि उनीहरू वडाध्यक्ष श्रीप्रसाद गुरुङकहाँ पुगे ।
वडाध्यक्ष गुरुङले टोल विकास समिति, महिला समूह, स्थानीय अगुवा, आरोपित युवक र पीडित परिवारलाई राखेर छलफल गराए ।
छलफलपछि वडा सचिव समेतको संलग्नतामा आरोपीलाई २५ पल्ट उठबस र पीडित बालिकाको खुट्टा ढोग्न लगाएर मिलापत्र गराइएको हो ।
वडाध्यक्ष गुरुङले युवकलाई माफी मगाएर अब आइन्दा यस्तो नगर्ने र गरेको खण्डमा कानुनी कारबाही जाने निर्णय गरी मिलापत्र गरेको बताए ।
मुलुकी अपराध संहिता, २०७४ ले १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी सम्बन्धी कसुर गरेमा पीडकलाई १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरेको छ ।
करणी सम्बन्धी उद्योगमा भने त्यसको आधा सजाय हुन्छ । बालिकाले प्रहरीमा जाहेरी दिएर कसुर ठहर भएमा भण्डारीलाई ९ देखि १० वर्षसम्म कैदको सजाय हुन सक्छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा मिलापत्र गर्न नहुने कानुनी व्यवस्था छ ।
करणीसम्बन्धी कसुरमा मिलापत्र गराउनमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई थप ६ महिना कैद सजाय हुन्छ ।