घरहरू ढल्न सक्छन् तर लोकतन्त्रको जग ढल्दैन : कोइराला

काठमाडौँ : नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले जेनजी आन्दोलनका क्रममा जलाइएपछि निवासको भग्नावशेषको अवलोकनपछि भावुक हुँदै ऐतिहासिक धरोहरमाथिको आक्रमण भएको बताएका छन् ।
उनले भने, 'यो घर एउटा इतिहास हो, सय वर्ष पुरानो थियो । यसको इतिहास भएर नै सबै आएका हुन् । कतिको घर जलेको छ । इतिहास जलेको देख्दा दुःख लागेको छ । म यहीँ जन्मिए । यहीँ हुर्किएँ । पढेँ अनि बसेँ । डाक्टर पनि भएँ ।' उनले घरहरू जल्न सक्ने तर लोकतन्त्रको जग ढल्न नसक्ने बताएका हुन् ।
गत गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुनुमा राजनीतिक दल र सरकारको कमजोरी रहेको स्वीकार गर्दै कोइरालाले भ्रष्टाचार र कुशासनविरुद्ध उठेका आवाजलाई समयमै सम्बोधन नगर्दा आजको अवस्था आएको बताए।
जेनजी आन्दोलनपछि भएको संसद् विघटन संविधानसम्मत नदेखिए पनि परिस्थितिजन्य रूपमा देशलाई थप सङ्कटबाट जोगाउन गरिएको ‘ड्यामेज कन्ट्रोल’ भएको बताए । धेरै कुरा नचलाई संविधानलाई धेरै क्षति नगराई चुनाव घोषणा भएको उनले बताए । चुनाव गर्न सबै लाग्नु पर्ने बताउँदै कोइरालाले राष्ट्रपतिले संविधानमा नै टेकेर अघि बढेको बताए ।
उनका अनुसार ‘जेनजीको मागअनुसार भ्रष्टाचार छानबिन आयोग बने पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको अधिकार अहिलेको संविधानले नदिने बताएका छन् । 'यो सरकार निर्वाचन प्रयोजनको लागि मात्र बनेको हो । निर्वाचन निर्वाचन निर्वाचन अहिलेको सरकारको कार्य जिम्मेवारी हो ।' उनले भने ।
साथै, नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको प्रस्तावबारे कोइरालाले अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने उनको भनाइ छ । नेतृत्व परिवर्तनको बहस महत्त्वपूर्ण भए पनि तत्कालको प्राथमिकता निर्वाचन भएको बताउँदै सबैलाई संयतता अपनाएर चुनावी तयारीमा जुट्न कोइरालाको आग्रह छ ।