यो दुर्दिन, हाम्रै कर्महरुको योगफल

बा भनेर मात्र होइन, पार्टीमा योग्यता, स्वच्छता, लोकप्रिय, सक्षम र जनउत्तरदायी व्यक्तिहरू लिएर अघि बढ्न सक्नुपर्छ । वर्गीय चिन्तन र आचरण विकासले मात्र पार्टीलाई सुदृढ बनाउन र शुद्धीकरण गर्न सकिन्छ । यो जरुरी छ । हामी के–कति सक्छौँ ? आत्मालोचना, आत्मसमीक्षा


२०८२ असोज ४ शनिबार १४:४१ बजे

जेनजी उमेर समूह (१३ देखि २८ वर्षभित्र) का भाइबहिनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धन शब्दोच्चारणसहित ब्यानर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै देशभरि युवा जमातको ध्यान खिचियो, शहरबजारमा भीड एकत्र भयो र जेनजी एकाएक सडकमा उत्रियो । भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धन आजको मुख्य विषय थियो । यसकारण यो उमेर समूहबाहिरका मानिसको पनि मुद्दामाथि ध्यान खिचियो, नैतिक समर्थन प्राप्त भयो र भीड बढ्यो । 

नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको राजकीय सत्ता सञ्चालनको सहयात्राअन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जेनजी उमेर समूहको प्रदर्शन र आन्दोलनका कारण अपदस्त हुन पुग्यो, सरकार ढल्यो । मूलतः भदौ २३ र २४ गते सम्पन्न जेनजी समूहको यो आन्दोलनमा निर्दोष बालबालिकादेखि लिएर निहत्या नागरिकमाथि हिंसा भयो ।

हिंसाको प्रतिवाद गर्दै राज्यविरुद्ध आन्दोलनकारी शक्ति प्रतिहिंसामा उत्रियो । यसक्रममा सडक लतपत मात्र भएन, नरसंहार भयो । लोकतन्त्र सडकमा लतारियो, पछारियो । भुइँचालोपछि उघ्रिएको दृश्यजस्तै लोकतन्त्रमा कलंकको टीका लाग्यो । मानवीय पक्षसमेत क्रुर बन्यो, क्षणभरमै क्षतविक्षत भयो । राज्यको सम्पत्ति र सम्पदा दुवै वस्तु खरानी भयो । एमालेलगायत राजनीतिक दलका कार्यालयहरू र सरकार सुरक्षित रहेको कार्यस्थल सिंहदरबार जलाएसँगै भूराजनीतिमा नेपाल कहाँनेर छ ? यसको नामोनिशाना पूर्णतः मेट्ने प्रयत्न सफल भयो । 

वस्तुतः यसैको बलमा संवैधानिक सरकार ढालियो र असंवैधानिक बाटो अपनाउँदै पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सुशीला कार्की नेतृत्वको सरकारले आउँदो ६ महिनाभित्रमा संघीय संसदको चुनाव अनिवार्य गर्ने गराउने योजना अघि सार्दै गर्दा जनप्रतिनिधिलाई राज्यको चाबी बुझाएर आफू बिदा हुने प्रतिबद्धता सार्वजनिक भइरहेको छ । जनादेश लिनका लागि तयार भए पनि पछिल्लो राजनीतिक घटनाक्रम, संविधानसम्मत विधि र अपनाउनुपर्ने प्रक्रियाप्रति असन्तुष्ट राजनीतिक दलले सुशीला कार्कीको कार्यारम्भलाई असंवैधानिक भनेका छन् ।  

त्रुटिपूर्ण बुझाइ
जेनजी समूहको आन्दोलनलाई प्रारम्भमा सरकार पक्षले कमजोर अथवा बालमनोविज्ञानका साथ बुझ्यो भने प्रतिपक्ष राजनीतिक दलहरूले सत्ता ढाल्ने दह्रिलो अस्त्रका रूपमा लिए । स्वयं जेनजी समूहले हामीले चाहेको यस्तो होइन, शान्तिपूर्ण प्रदर्शन हो, व्यापक जनदवाव हो र आन्दोलन पनि हो भन्दै गर्दा यो समूहबाहिरका मानिसको बग्रेल्ती घुसपैठ, अनियन्त्रित गतिविधि र उत्ताउलो अभिव्यक्तिलाई पनि सहजै लिए । ‘कुचोले बढार्नुपर्ने हावाले उडाए झन् जाति’ भन्ने अर्थमा लिए ।

ढुंगामुढा, तोडफोड, आगजनी आदि हुँदा पनि यसबारे आपत्ति, विरोध, निन्दा, भर्त्सना आदि केही गरेनन् बरु नैतिक समर्थन जनाए र ऐक्यबद्धता जाहेर गरे । जब परिस्थिति काबुबाहिर गयो र आफूअनुकूल भएन, दाउपेचका बीच राजनीतिक स्वार्थको रोटी सेक्न सकिने अवस्था भएन तब नानाथरिका तर्कहरू एकाएक बाहिरिन थाले । शान्त तलाउमा छालउछाल ल्याउन खोजिए झैँ भयो ।

प्रकारान्तरमा आएर समग्र वस्तुस्थिति र राजनीतिक परिस्थिति अत्यन्तै असहज, जटिल र असाधारण बन्यो ।  सिर्जित प्रतिकूलतामाझ धुलो टक्टक्याउँदै अघि बढ्न तयार एमालेलगायत मूलधारका राजनीतिक दलका लागि जेनजीले चलाएको ह्वीम चिर्दै अग्रसरता लिन उति सजिलो छैन, जति हिजो कुनै बेला थियो । अर्थात् असम्भव होइन सम्भव छ तर निकै कठिन छ । 

प्रारम्भिक बुझाइ
नेकपा निर्माणको औचित्व पुष्टि नहुँदै अध्यक्ष ओलीले यसलाई विघटन नगरेको भए, चुनावको लगत्तैपछि बनेको कांग्रेस माओवादी र रास्वपाबीचको गठबन्धन तोड्नमा अध्यक्ष ओली अग्रसर नभएको भए, एमाले माओवादी र रास्वपाबीचको गठबन्धन विघटन नगरेको भए, पछि कांग्रेससँग मिलेर नयाँ गठबन्धन नबनाएको भए, यसको प्रधानमन्त्रीका हैसियतमा केपी शर्मा ओली दोस्रोपटक चीनको भ्रमणमा नजानुभएको भए, नेपालको चर्चित चुच्चे नक्शा संयुक्त राष्ट्रसंघमा नपठाएको भए, चीन र भारतको लिपुलेक सम्झौतामाथि केही नबोलेको भए, बीआरआई सम्झौतामा हस्ताक्षर नगरेको भए, शक्ति राष्ट्रसँगै उभिएर चीनले लिएको महत्त्वसँगै प्रधानमन्त्री ओली महत्त्व नदिएको भए यस्तो घटना घट्ने थिएन भन्ने अड्कल, अनुमान र अध्ययन पर्याप्त मात्रामा भइरहेको छ । 

यी दुवै बुझाइमा यथेष्ट आधार होला ! केही सत्यता पनि होला ! तर यतिमात्र भनेर ०८२ फागुन २१ गते हुने भनिएको चुनावी लडाइँ जित्न सकिँदैन । बैतर्नी तर्ने सदिच्छा पूरा गर्न सकिँदैन । 

अन्तर्य आफैंभित्र
आफ्नो आङको चाहिँ भैँसी पनि नदेख्ने अनि अर्काको आङको जुम्रो देख्ने बानीबाट गुज्रिएका हामीमा प्रायशः एउटा र साझा समस्या छ– अड्कल र अनुमान गर्ने । प्रिय भाइबहिनीहरूको जेनजी आन्दोलनको ब्यानरमा आशभन्दा बढी त्रासपूर्ण गतिविधि चर्किरहँदा यसलाई हामीले व्यवस्थाविरोधी जेहाद् छेडिएको हो कि भन्न भ्यायौँ, ढालिएको राजालाई ब्युँताउन खोजिएको हो कि भन्ने अनुमान लगाउन भ्यायौँ, छिमेकीको प्रत्यक्ष हस्तक्षेप आइलाग्ने हो कि भन्ने अड्कल लगायौँ, उत्तरी छिमेकी चीनलाई अवरुद्ध तुल्याउन उनीहरूको भूराजनीतिक रुचिमा पश्चिमा शक्तिहरू नै पो आइलाग्ने हुन् कि भन्ने अध्ययन गर्न पनि तल्लीन रह्यौँ र अब नेपाल र हामी निर्दोष नेपाली फ्रि तिब्बत अभियानको सहयोगी पो बन्ने हो कि भन्ने अनिष्टलाई नजिकैबाट केलारह्यौँ । मियो बिना दाइँ हुन सक्दैन ।

मियो कायम भएपछि हलमा नारिएका गोरुले जति नै बठ्याइँ गरे पनि दाँयाबाँया गर्न सक्दैन । मियोको अडानलाई लिएर बुझाइ विकास गर्न सकिन्छ । आफैंभित्र कायम बुझाइको अन्तर्यलाई पनि पुनर्संगठित गर्न सकिन्छ । मार्क्सवादले कुनै पनि घटना घट्नमा आन्तरिक कारण प्रमुख र बाह्य कारण चाहिँ सहयोगी पक्ष हो भन्छ । आन्तरिक कारण र सहयोगी पक्ष खोज्नु वाञ्छनीय हुन्छ । 

आफैंमा छ दोष
संघीयता कार्यान्वयनको दशक बित्न लागेको छ । एमालेलगायत मूलधारका शक्तिहरू स्थानीयदेखि संघीय सरकारको नेतृत्वमा छन् । भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धन शब्दोच्चारित ब्यानरमुनि मानिस किन एकीकृत भए ? नागरिकमा बढेको यति धेरै चरम निराशा र असन्तुष्टि कसरी संगठित भयो ? सत्ताको बागडोर हाम्रा हातमा तर नागरिक सरोकारका विषयमा जेनजी किन यसरी उठ्न सक्यो ? यो परिस्थिति निर्माण हुनमा हामी पनि दोषी होइन र ?

राजनीतिकसत्ता र राजकीयसत्ताको ठालूपन, गैरकम्युनिष्ट आचरण, निम्नपूँजीवादी चिन्तन, बुर्जुवा जीवनशैली र जसरी भए पनि सत्तासीन हुनुपर्ने उत्कट पदाशक्ति आदि कारणले यो परिस्थिति सिर्जना भएको होइन ? राज्य सञ्चालनको बागडोर हाम्रा हातमा छ । शासकीय दृष्टिकोणले मुलुकमा के हुँदैछ ? अनुमान, अध्ययन, अनुसन्धान आदि केही हुनुपर्दैन ? यो हाम्रो असफलता होइन ? 

आफैंमा छ खोट
कार्यक्रम, कार्यनीति, कार्यादेश, रणनीति र यसलाई तय गर्ने राजनीति, राजनीतिक पक्ष र वैचारिक पक्षले जति हामी अग्रगामी छौँ, यससम्बन्धी अध्ययन, कार्ययोजना निर्माण र कार्यान्वयनका दृष्टिकोणले उति नै पछाडि छौँ । जनताको बहुदलीय जनवादनिर्देशित यसको मौलिकपन, कार्यक्रम, कार्यनीति, कार्यादेश, रणनीति आदि पक्षलाई अध्ययन गर्नुभन्दा पनि कसैले नेतृत्वलाई बा भन्यौँ, बा भन्नमा रमायौँ र कसैले आमा भन्यौँ । न वर्ग, न वर्गीय चिन्तन, न वर्गीय आचरण ! कसैको पनि देवत्वकरणमा सम्पूर्ण सामथ्र्य खर्चियौँ । अर्थराजनीतिका ठाउँबाट हेर्दा देश खरानी भइसक्यो । अहिले पनि बा र आमा भन्न छाडेका छैनौँ । अन्ततः यो हाम्रो अयोग्यता हो कि होइन ?

हो, यहाँनेर गम्भीर बन्यौँ भने गरिखान सक्ने अवस्था छ अहिले पनि, नत्र अलपत्र पर्नु निश्चित छ । जेनजी उमेर समूहले चलाएको आन्दोलनले दुइटा विषयमा नवीकृत बहस चलायो, हामीलाई पुनर्जागृह गरायो– सुशासन र सुशासनको प्रत्याभूतिका लागि नेतृत्वको पुस्तान्तरण । अनुशासित संगठनात्मक संरचनाअन्तर्गत रहेको एमालेले अब नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहित केन्द्रदेखि नै पूनर्गठनलाई तिब्रता दिनुपर्छ । नत्र, नत्र उही अलपत्र मात्र हो ।

व्ययभार मात्र बढ्ता भएका राज्यको पुनःसंरचनासहित संविधानमा व्यापक संशोधन गर्नुपर्छ । पार्टी सम्बद्ध जनसंगठन केन्द्रदेखि आधारभूत तहसम्म व्यापक पुनर्गठन गर्नुपर्छ । विपत् बखतमा पन्छिने र राजीनामा अघि सार्ने होइन, पार्टीमा क्षमतावान, निष्ठावान तर जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । 

सोसल अडिटका आँखामा
एउटा सजीव समाजमा प्रत्येक नागरिक र तिनका सचेतन आँखाले सोसल अर्डिटरको काम गरिरहेको हुन्छ । यी आँखामा एमालेसम्बद्ध हरेक नेता कार्यकर्ताको जीवन पारदर्शी हुनुपर्छ । आँखामा हाल्दा नबिझाउने हुनुपर्छ । समाजमा नेता कार्यकर्ताको सम्बन्ध सहज रुचाउने, पचाउन र बुझ्न बुझाउन सक्ने हुनुपर्छ । कार्यकर्ताले नेतृत्वमा छाँट्न पाउने, भेट्न पाउने र आलोचन गर्न पाउने वातावरणको सुनिश्चितता गरिनुपर्छ । आफ्ना कुरा राख्न कसैलाई खुसामत गर्न नपरोस् ! बा वा आमा होइन, वर्गीय चिन्तन र व्यवहार झल्कने आभास दिन सक्नुपर्छ । 

समाजमा अगुवा हुँ भन्ने कम्युनिष्ट सदस्यको सादगीपन र मन, कम्युनिष्ट पार्टीको नेता हुँ भन्नेहरूले प्रयोग गर्ने भाषा शैली र सामाजिक सञ्जाललगायत सार्वजनिक मञ्चमा उभिँदा देखिने भद्दा जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । समाजले नरुचाउने, नपचाउने कार्य गर्नुहुँदैन । कुनै पनि खालको भेद–विभेद कम्युनिष्ट जीवनशैलीमा देखिनुहुँदैन । यस्तो देखिएका वा गरेको पाइएमा दण्डित हुने व्यवस्था गरिनुपर्छ । 

जिम्मेवारी निर्धारण
राजनीतिक सत्ताका दृष्टिकोणले कतिपटक कुन कमिटी र कमिटीगत जिम्मेवारीमा कतिञ्जेल रहने ? कतिपटक चुनाव लड्ने ? कतिपटक माननीय र मन्त्री हुने ? कतिपटक नेतृत्वमा रहने ? कुन उमेर हदसम्म जिम्मेवारीमा रहने आदि विषय निक्र्यौल हुनुपर्छ । सहभागिताको सुनिश्चितताका लागि युवा, महिला, दलित आदि आरक्षित क्षेत्रलाई प्रत्यक्ष निर्वाचन क्षेत्र आरक्षण सुनिश्चित गरिनुपर्छ । प्रदेशसभा विघटन गर्दै स्थानीय तहलाई अझै र अधिकारसम्पन्न बनाउनुतर्फ गृहकार्य आरम्भ गर्नुपर्छ । देख्दा भद्दा लाग्ने र आम कार्यकर्ताले व्यहोर्न नसक्ने खर्चिलो र अनावश्यक खादा माला प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ । 

पार्टीबाट सार्वजनिक पदमा पुग्ने व्यक्तिहरू सोसल अडिटरका आँखामा योग्य, मुलुक र पार्टीप्रति पूर्ण बफादार हुनुपर्ने हुन्छ । मूलतः पार्टीलाई जति सैद्धान्तिक वैचारिक हिसावले सुदृढ राखेका छौँ, त्यति नै व्यवहारिक रूपमा आकर्षित बनाउन सकिएन । अब सक्नुपर्छ । परस्पर स्वच्छता, नैतिकवान, चरित्रवान, आचरणयुक्त, अनुशासित र सरल जनशैलीयुक्त कार्यकर्तासहितको पार्टी बनाउन सकिएन । अब सक्नुपर्छ । 

त्याग परित्याग
पार्टीमा स्वार्थी, व्यक्तिवादी, खुराफाती, षड्यन्त्रकारी, गुटबाज र अयोग्य नेताहरूको हालीमुहाली बढ्दै गएको छ । कडाइसाथ नियमन र नियन्त्रण गर्नुपर्छ । नीति, नेतृत्व र संगठनमा समस्या छैन । एकमना एकता छ । तथापि, संस्थापन र विस्थापन पक्षको खेति चलाइने गरिन्छ । यस नाममा जबर्दस्त पार्टीलाई विभाजन गरिन्छ ।

कित्ताबन्दी र समूहबन्दी गरिन्छ । यसलाई पूर्णतः निषेध गर्नु र गरिनुपर्छ । त्याग परित्याग गर्नुपर्छ । पार्टीमा उब्जेको निराशालाई चिर्न पार्टी विधान र कार्यक्रमलाई नै अघि सार्नुपर्छ । नेपालको संविधाननिर्देशित भावनाबमोजिम नेतृत्वमा विभिन्न जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय प्रतिनिधित्वलाई संख्याका आधार अनुपातमा तय गरिनुपर्छ । गैरकम्युनिष्ट आचरण र अवैज्ञानिक मान्यतालाई त्याग परित्याग गर्नुपर्छ । 

बा भनेर मात्र होइन, पार्टीमा योग्यता, स्वच्छता, लोकप्रिय, सक्षम र जनउत्तरदायी व्यक्तिहरू लिएर अघि बढ्न सक्नुपर्छ । वर्गीय चिन्तन र आचरण विकासले मात्र पार्टीलाई सुदृढ बनाउन र शुद्धीकरण गर्न सकिन्छ । यो जरुरी छ । हामी के–कति सक्छौँ ? आत्मालोचना, आत्मसमीक्षा र आत्मसंकल्प अहिले आफैंबाट आरम्भ गरौँ  ! 
 

लेखक चिनारी

युवराज बास्कोटा
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७