नेपालमा सावधानी अपनाउन आफ्ना नागरिकलाई भारतको आग्रह

काठमाडौं । भारत सरकारले नेपाल जाँदा सावधानी अपनाउन आफ्ना नागरिकसँग आग्रह गरेको छ ।
जेनजी आन्दोलनयता बिग्रिएको नेपालको अवस्था केही सुधार भए पनि यात्रा गर्दा अझै सावधानी अपनाउन काठमाडौंस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको हो।
नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ। सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्। यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ।’
भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो भने आन्दोलनमा घाइते भएका तीन सयभन्दा बढी अझै उपचाररत छन् ।
भदौ २४ गते आक्रोशित भिडले संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत हजारौं सरकारी कार्यालय, नेताका घर तथा व्यवसायिक प्रतिष्ठान जलाइदिएका थिए ।