अब हामीले हिँड्नु पर्ने विवेकको बाटो

उनीहरु हाम्रा असल अभिभावक होइनन्


२०८२ असोज ४ शनिबार १३:५८ बजे


त्यो भदौ २३, त्यो भदौ २४ 
उथलपुथलकारी, आँधीमय र कोलाहलमय दिनहरुपछि हामी सामान्य अवस्थामा फर्किने प्रयास गरीरहेका छौं । एकातिर हामीसँग भदौ २३ गतेको जेनजी आन्दोलनले दिएका सन्देश, निर्देश र पाठहरु छन् । अर्कातिर भदौ २४ गतकोे वितन्डाले हाम्रो विचमा छोडी गएका अनेक प्रश्न, संसय र पीडाहरु छन् । अहिले पनि मेरो आँखामा भदौ २३ र २४ गतेको दृश्यहरु नाँचिरहेको छ । भदौ २३ गते आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उपस्थीति जनाउन गएका कलिला नानीहरु, अबोध नौजवान साथीहरु मारिएको बर्बर र क्रुरतापूर्ण दृश्यहरुले नराम्ररी झस्काइरहेको छ । मेरो मनमा अहिले पनि प्रश्न छ, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए रु किन बर्बर दमन गरियो रु’ म फेरि पनि उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 

त्यही आवरणमा भदौ २४ गते गरिएको तोडफोड, आगजनी, लूटपाटको दृश्यहरुले हामीलाई असह्य पीडा दिइरहेको छ । मलाई विश्वास छ, यसरी ‘जेनजी’हरुको आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय क्षति गराउनेहरु कानुन अनुसार नै दण्डित हुनेछन् । २४ गतेको घटनासँग मेरो मनमा कैयन प्रश्नहरु छन् । रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिडेकाहरुले हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरुमाथि किन आगो लगाए रु उनीहरु को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए रु हाम्रो सुन्दर र सुनिश्चत भबिष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरुले नै खोज्नुपर्नेछ ।

अब अतित होइन भबिष्य तर्फ
अब यहाँनिर एउटा सत्य के हो भने इतिहासलाई मात्रै बोकेर हिड्दा हाम्रो वर्तमान पनि गुमाउँछौं । भबिष्य अनिश्चितता तर्फ उन्मुख हुनेछ । अतितमा बाँचिरहनु पीडामा बाँच्नु पनि हो । सँगै यो पनि सत्य हो, इतिहासबाट जो केही सिक्दैन, समिक्षा गर्दैन उनीहरुले भबिष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने हुन्छ । हामी खरानी टक्टक्याउँदै उठ्नुपर्छ तर सुन्दर भबिष्यका लागि समिक्षा र आज भएका कमजोरीहरुको स्वीकारोक्ती सहित ।

मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुर्ष बर्ष भएछ । अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ बर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला ? यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नी ? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु । 

गल्तीहरु नेतृत्वमा बस्नेहरुबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो । म भन्न चहान्छु, गल्ती कमजोरीहरु सच्चाएर जानेछौं । यो अभियानको एक सदस्यको रुपमा आजको तमाम कमजोरीहरु माफी माग्छु । 

उनीहरु जिम्मेवार अभिभावक होइनन्

‘जेनजी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यूले वार्ता गरीरहनु भएको बेला मैले विज्ञप्ति मार्फत भनेको थिए, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ ।’ संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संबिधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुने मेरो मत थियो ।

मैले भनेका थिए, ‘हाम्रो अग्रजरतपाईं हाम्रो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र असफल मुलुक बनाउने अनि ‘जेन–जी’ पुस्तालाई सुन्दर भबिष्य निर्माणबाट बिमुख गर्ने प्रयासप्रति ‘जेन–जी’ पुस्ता सजग रहनुपर्छ ।’ मैले प्रिय जेनजी साथीहरुको अडान सुनेँ, भिडियोहरु हेरेँ । संबिधान र व्यवस्थाप्रति तपाईंहरुले जुन अडान र प्रतिबद्धता जनाउनु भयो । म त्यो अडानप्रति हार्दिक सलाम र सम्मान व्यक्त गर्दछु । 

फेरि पनि हामीले हाम्रो संबिधान र व्यवस्थाको रक्षा गरेर अघि जानुछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगिन जिम्मेवारी फेरि एक पटक इतिहासले हामीलाई सुम्पिएको छ । अनेकन नाम र आवरणमा हुने सबै खालका गलत कदमहरुलाई अस्वीकार गर्नुछ । यस बेला म सबै–सबै अग्रज र नौजवान साथीहरुलाई फेरि पनि भन्छु, ‘अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं ।’

इतिहासको घाउँ कोट्एर भविष्य थप अनिश्चित नबनाऔं । फेरि पनि कही कतैबाट आवेग, उत्तेजनाहरु सुनिनु गलत हुनेछ । २४ तान्डव सबर्था गलत थियो । आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वंयम् जेनजीका अगुवाहरु पुगी नै सक्नु भएको छ । यस अवस्थामा आफ्नै आचारसहिता, आर्दश बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ती सडकमा आएका ‘जेनजी’हरुलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरुलाई गाली गर्नु हो । आफ्नै सन्ततीहरुलाई गाली गर्ने जो जिम्मेवार अभिभावक बन्नै सक्दैनन् । 

मलाई लाग्छ, ‘आवश्यकताको सिद्धान्त अनुसार संबिधानको कम क्षतिमा अन्तरिम सरकार बनेको छ ।’ म सम्माननीय प्रधानमन्त्री सुशिला कार्की सहित सबैलाई बधाई भन्छु । म वर्तमान सरकारलाई पनि अनुरोध गर्न चहान्छु, यसअघिका भएका गल्तीहरु नदोहोर्योस् ।

मलाई विश्वास छ, थप मुठभेटमा होइन, प्रतिशोधमा पनि होइन बढो सम्हालिएर सबैलाई सँगै लिएर तोकिएकै समयमा निर्वाचन मार्फत मुलुकलाई सही ट्रयाकमा लैजान यहाँहरुको भूमिका रहनेछ । तपाईंहरुप्रतिको भोलीको भरोषा र सम्मान पनि त्यसैमा निर्भर रहनेछ । आजको हाम्रो बाटो र उज्यालो यही हो । यही बाटो र उज्यालो समाएर हिड्न म अपिल गर्दछु ।

लेखक चिनारी

सुहाङ नेम्वाङ
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७