धुरुधुरु रुँदै हर्क साम्पाङले भने : मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो व्यक्तिगत संघर्ष र देशको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा बोल्दा बोल्दै भक्कानिएका छन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री हुन तयार छु भन्दै मेयर साम्पाङ काठमाडौँ आएका थिए । तर उनको प्रयास सफल नभएपछि धरान फर्केर पत्रकारहरूसँगको भेटमा उनले जेनजी आन्दोलनपछि देश विषयम परिस्थितिमा गुज्रिरहेको र धेरै युवाको चाहनामा अघि बढ्न चाहे पनि 'गेमर'ले आफूलाई रोकेको उनको दाबी छ ।
जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहरमात्र नभई ठूलो डिजाइनरबाट भएको उनले दाबी गरेका छन् । ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय रहेछ,’ साम्पाङले भने, ‘यो आन्दोलन सुशासन वा सोसल मिडियाकै लागि मात्रै नभएको पाएँ।’
'हाम्रो देशलाई विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ,' हर्क साम्पाङ भन्छन्, 'सबै नेताहरू भागाभाग छन्। कोही रक्ताम्य छन्, कोही बागमतीमा कुटाइ खाँदै छन्।' उनका अनुसार, देशको वर्तमान विषम परिस्थितिमा विदेशीले नेपालमा हस्तक्षेप गर्नसक्ने खतरा टरेको छैन।
तर हर्क साम्पाङको दाबी अनुसार उनको यात्रा बिल्कुल फरक छ। 'मलाई सबै मान्छेले काठमाडौँ जानु भने । त्यत्रो मान्छेले भनिसकेपछि मलाई लाग्यो, म त देश बनाउन आएको मान्छे हो ।' उनले भने ।
उनले आफू मेयरमा निर्वाचित भएको विषय पनि कोट्याए । हर्क साम्पाङले १० वर्षसम्म धरानमा एक्लै चप्पल पड्काएर चुनाव जितेको बताउँदै भने, 'म अरूलाई ढोगेर पद पाउँ भन्ने खालको मान्छे होइन। धरानको मेयर टिका लगाएर होइन, १० वर्षसम्म एक्लै चप्पल पड्काएर अभियान चलाएर जितेको मान्छे हुँ।'
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आफूले बलिरहेको आगोमा हाम फालेको बताएका थिए । 'नेता भनाउँदाहरू लुकिरहेको बेला यो देश बचाउन मैले आगोमा हामफाल्ने निर्णय गरे,' हर्क साम्पाङले भने।
उनी प्रधानमन्त्री बन्ने उद्देश्य बोकेर काठमाडौं आए पनि रित्तो हात फर्किएका थिए । विदेशीले टेक ओभर गर्न सक्ने सम्भावना रहेको भन्दै साम्पाङ रोएका हुन् । धरानमा केही सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्री दिइएको भए पनि स्वीकार नगरेको बताए ।