ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : उच्च मनोबलका साथ काम गर्नू

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् ।
सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।
गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिदै सरकारका तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिवद्धता जनाए । शान्ति सुरक्षा, सुशासन लगाएतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे । उनले अव छिटै सवै कुरा लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रुपमा निर्वाचन गर्ने उनले बताए ।
यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएका थिए ।