प्रधानमन्त्री कार्की र भारतीय समकक्षीबीच भिडियो संवाद हुने

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडियो संवाद हुने भएको छ।
प्रधानमन्त्री कार्यालयका स्रोत अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजे यो संवाद गर्ने तयारी गरिएको छ। यद्यपि, मंगलबारका लागि तय गरिएको वार्ता अन्तिम समयमा सरेको हो।
स्रोतका अनुसार, यो भिडिओ संवाद गृह मन्त्रालय भवनमा स्थित प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट हुनेछ। प्रधानमन्त्रीको शपथ ग्रहणसँगै भारतको विदेश मन्त्रालयले सबैभन्दा पहिले कार्कीलाई बधाई र शुभकामना दिएको थियो।
कार्कीको नेतृत्वमा बनेको सरकारको शुभकामनास्वरूप मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिएका छन्। उनले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा महिला सशक्तीकरणको उदाहरणको रूपमा कार्कीको नेतृत्वको उल्लेख गरेका थिए।
नेपाल र भारतका समकक्षीबीच हुने संवादअघि मोदीका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भएका छन् । आज अपरान्ह ४ बजे सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग भेट्ने तय भएको जनाईएको छ ।