मन्त्रिपरिषद् ११ जनाको हुने

काठमडौँ : प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद ११ जनाको मात्र हुने बताइकी छन् । उनले मंगलबार बिबिसीसँग कुरा गर्दै १० देखि ११ जनासम्मको हुने बताएकी हुन् ।
उनले भनिन्,'मन्त्रिपरिषद छोटो मिठो हुनेछ ।' उनका अनुसार हाल धेरै जनाको नाम आए पनि मन्त्रिपरिषद विस्तारका लागि गैह्रराजनीतिज्ञ र विज्ञताको आधारमा मन्त्री नियुक्त गरिनेछ । साथै समावेशितामा पनि सकेसम्म ध्यान दिने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
सथै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने प्रतिबद्धता जाहेर गरेकी छन्। भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्नेबारे मन्त्रिपरिषद्ले पूर्णता पाएपछि छलफल गरेर निर्णय गरिने उनको भनाइ छ ।
‘हामीले अनुसन्धान गरेर कारबाही गर्नेसम्म पुर्यायौँ भने पनि अर्को सरकारले अरू कामहरू गर्न सक्छ । तर त्यो बाटोचाहिँ हामी बनाउँछौँ। जसले भ्रष्टाचारविरोधी आन्दोलन गरेको छ त्यो जबसम्म अनुसन्धान हुँदैन, कारबाही हुँदैन तबसम्म यो मुलुकले निकास पाउँदैन त्यो हामीलाई लागेको छ। त्यो हामी अनिवार्य गर्नेमा छौँ’ उनले भनिन्।
जेनजी सरकारले जेनजी आन्दोलनमा भएको क्षतिको छानबिन गर्न आयोग गठनका लागि पहिलो मन्त्रिपरिषदको बैठकबाट सैद्धान्तिक निर्णय गरेको छ । जसको समयावधि ३० दिनको हुने प्रधानमन्त्रीको भनाइ छ । र त्यसपछि थप्नु परे अधिकतम ४५ दिनसम्म मात्रै हुने उनले जानकारी दिइन् ।