राष्ट्रिय सम्मानसहित जेनजी आन्दोलनका मृतकहरूको अन्त्येष्टि

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। उनीहरूको पोष्टमार्टम प्रक्रिया पूरा भएपछि, आज शवयात्रा निकालेर टिचिङ अस्पतालबाट पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।
अन्त्येष्टिका क्रममा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले शहीदहरूको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे। यस अवसरमा, शहीदहरूको योगदान र बलिदानको कदर गर्दै मन्त्रीद्वयले राष्ट्रिय एकता र संघर्षको प्रतीकको रूपमा उनीहरूको सम्झना गरे ।
जेनजी आन्दोलनका १० मृतक मध्ये ४ जनाको अन्त्येष्टि पशुपति आर्यघाटमा सम्पन्न भएको छ। यसैबीच, ६ जना शहीदहरूको शव हेलिकप्टरमार्फत काठमाडौं बाहिर अन्त्येष्टिका लागि लैजाने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।
सरकारले जेनजी आन्दोलनका शहीदलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानमा अन्त्येष्टि गर्ने, र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। शहीदहरूको बलिदानलाई सम्मान गर्दै सरकारले यी निर्णयहरू गरेका छन् ।